एउटा निर्वाचन हार्दैमा डराउनु पर्दैन : दिनेश थापामगर

- February 25, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दिनेश थापामगर महानगर अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर महानगरपालिका

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तपाईको धारणा बताइ दिनुस न ?
एमसिसी नेपालका लागि उपयुक्त छैन । पहिला जनता माझ गएर जनताको राय सुझाव बुझेर मात्र संसदबाट पारित गर्नु पर्छ । हचुवाको भरमा एमसिसी पारित भयो भने देशका लागि दीर्घकालीन हित हुंदैन । त्यसैले यो एससीसी पारित गर्नु भन्दा पहिलो जनतामा गएर वृहद छलफल गरे मात्र पारित गर्नु पर्छ । नेपालकै एनसेलबाट सरकारले अबौ उठ्न बाकी छ । यसरी हेर्दा नेपालकै ऐनसेल लगायतका निकायबाट कडाईका साथ रकम उठाउने हो भने एमसिसी नेपालमा भित्र्याउनै पर्दैन ।

तत्कालीन संचार मन्त्री गोकुल बाँस्कोटा घुस आफर काण्डलाई यहाँले कसरी लिनु भएको छ ?
देश र जनताको लागि सेवा गर्न गएका मन्त्रिबाटै यसरी घूस लिने, भ्रष्टाचार गर्ने जुन कुरा बाहिर आएको छ । यो अत्यन्त गम्भीर विषय हो । यसमाथि प्रधानमन्त्रीकै अत्यन्त विश्वासपात्र मन्त्रीबाट घूस लिने प्रयास भयो, यो भन्दा दुःखद अरु के हुन सक्छ । तत्कालीन् सञ्चारमन्त्रीको घुस प्रकरण (घूस लिने प्रयास)को गम्भीर रुपले छानविन गर्नु पर्छ । यहाँ गोकल वास्कोटाको मात्र कुरा होइन, श्रृखलावद्ध रुपमा भ्रष्टाचार भइरहेको कुरा सार्वजनिक भइरहेको छ । वालुवाटार (ललिता निवास) जग्गा काण्डदेखि आधा दर्जन यस्ता काण्ड सार्वजनिक भएको छ । सम्पूर्ण काण्डमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस पनि गम्भीर नहुँदा विभिन्न काण्डहरू ढाकछोप गर्ने, झिसमिस हुने भइरहेको छ ।

मुलुकको समग्र परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
मुलुकको समग्र परिस्थिती राष्ट्रवादी जनताले चाहे जस्तो छैन । जताततै भ्रष्टाचार, अनियमिता छ । जनता राष्ट्र, राष्ट्रियता र हिन्दुत्वको पक्षमा छन् । तर त्यो कुरा लुकाउनु परेको छ । अब हामी हिन्दुहरू छाती फुकाएर हिड्ने परिस्थिति निम्त्याउदै छौ । देशमा व्यापक रुपमा भएको भ्रष्टाचार, अनियमितता सत्ताको आडमा ढाकछोप भइरहेको छ । इमान्दार रुपमा भन्ने हो भने यति बेला सरकारी संस्थामा भइरहेको भ्रष्टाचारको विरोध गर्ने हामी मात्र भएका छौं । यति बेला देशको अवस्था दुःखद छ तर केही समयपछि हाम्रो पक्षमा जनता लाग्ने छन् । जनताकै बलमा हामी सत्तामा जाने वातावरण बनाउदै छौं । हामीले अर्को निर्वाचनको प्रतिज्ञा गरिरहेका छौ ।

राप्रपाहरू फुटेकै कारण कमजोर भएको त होइन ?
यो राम्रो प्रश्न सोध्नु भयो, हामी फुटेकै कारण मात्र कमजोर भएका हौ, कमजोर देखिएका हौं । फुटकै कारण निर्वाचनमा हाम्रो राम्रो परिणाम आएन । यदि हामी नफुटेको भएका गत निर्वाचनमै राष्ट्रिय पार्टी हुन्थ्यौ । अब पनि समय वितेको छैन । एउटा निर्वाचन हार्दैमा डराउनु पर्दैन । अर्को निर्वाचनसम्म हामी धेरै बलियो बन्ने छौं । हामी तल्लो तहका नेता पनि राप्रपाहरू अभिलम्व मिल्न सल्लाह दिन्छौं । राप्रपा बलियो भए हिन्दु धर्म र संवैधानिक राजतन्त्र मान्ने शक्ति बलियो बन्ने हुन । यदि राप्रपाहरू मिलेनन् भने अझ कमजोर हुँदै जाने आम कार्यकर्ताका भनाई सत्य हो । त्यसैले राप्रपा र राप्रपा (संयुक्त) मिल्न जति ढिला हुन्छ, त्यति त्यति हामी कमजोर बन्दै जाने छौं ।

कसका कारण राप्रपाहरू नमिलेको हो त ?
राप्रपाका अध्यक्ष कमल थापा पार्टी एकताका लागि संयमित र उदार हुनुहुन्छ । राप्रपाले पार्टी एकताका लागि बारम्बार आव्हान गरिसकेको छ । यसरी हेर्दा राप्रपा एकताका लायिग सहर्ष तयार छ । अब पार्टी एकताका लागि राप्रपा (नियुक्त)का अध्यक्षहरू पशुपती समशेर राणा र डा. प्रकाशचन्द्र लोहनी गम्भीर हुनु जरुरी छ । जति चाडैं पार्टी एकता हुन्छ त्यति चाडैं हामी बलियो हुन्छौं । यो विषयलाई दुवै पार्टीका नेताहरूले गम्भीर रुपमा लिनु पर्छ ।

यस पटकको उपनिर्वाचनलाई कसरी लिनु भएको छ ?
उपनिर्वाचनमा हाम्रो सोचे जस्तो परिणाम आएन । यो उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बाहेक अन्य दलको खासै राम्रो स्थिति रहेन । जनताले चाहेमा मात्र राम्रो परिणाम आउने हो । जनताले परिवर्तन खोजिरहेका छन् । यस पटक फुटेर गएका कारण राप्रपाहरूलाई जनताले भरपर्दो दलको रुपमा लिएनन् । त्यसैले पहिला हामी एकतावद्ध भएर गएमा मात्र जनताले हामीलाई विश्वास गर्ने छन् । ‘एक भाई एक भाई’ भनेर जनताले एउटा निर्वाचनमा हामीलाई मत दिएकै हुन । यो स्थिति दोहोरिन्छ भन्ने हामीलाई लागेको छ ।

नेपालमा हिन्दु धर्म मान्ने ९० प्रतिशत भन्दा बढी छ भनिन्छ तर हिन्दु धर्मलाई वटम लाइन मान्ने पार्टीको मत किन घट्दै गएको हो ?
जनताले विकास र परिवर्तन चाहिरहेका छन् । त्यसैले हिन्दु धर्म भनेको सबै नेपालीहरूको आस्थाको धरोहर हो । झण्डै दुई तिहाइ भएको सरकारले विकास र परिवर्तनको बाटो नहिडेर महँगी, बेरोगारी, भ्रष्टाचार, अनियमितता, अशान्तिलाई प्रसय गर्दै गएकाले अब नेपाली जनताले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई अपरिहार्य मानेको अवस्था छ । आफ्नो धर्म संस्कृति र मौलिकतालाई इमान्दार रुपमा नेतृत्व दिने शक्ति जनताले खोजिरहेका छन् । अब त्यो नयाँ शक्तिको नेतृत्व राप्रपाले दिन सक्छ ।

भारतले आफ्नो नक्सामा कालापानी, लिपुलेक, लिम्पुयाधुरालाई पनि राखेको छ । यस विषयमा राप्रपाले स्पष्ट रुपमा केही बोलेको छैन नि ?
यो विषयमा राप्रपाले जोडदार रुपमा आवाज उठाइरहेको छ । र खासमा चासो हुनु पर्ने अहिले दुई तिहाइ बहुमतको सरकारको हो । खास रुपमा नेकपा र नेपाली काग्रेस यसमा जिम्मेवार बन्नु, पर्छ । त्यहाँका जनप्रतिनिधि के भनिरहेका छन्, यो विषय पहिला महत्वपूर्ण हो । राप्रपा भने जनतालाई यस विषयमा सजग गराउदै अघि बढिरहेको छ । हामी सरकारलाई ज्ञापनपत्र दिने देखि सडकमा ¥यालीका कार्यक्रमहरू समेत गरिरहेका छौ । यो क्रम जारी रहने छ ।

हिन्दु धर्म मान्ने पार्टीहरूलाई एकिकृत गर्नु पर्छ भनिन्छ तर यस विषयमा नेताहरूले गम्भीर चासो राखेको देखिदैन नि ?
धार्मिक संगठनहरूलाई समेट्दै राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हो । यसको लागि राप्रपाले समान विचार र आस्था भएका सम्पूर्ण संघ संगठनहरूलाई समेटदै पार्टीलाई अग्रणी शक्तिको रुपमा स्थापित गर्नु पर्छ ।

तपाई राप्रपाको ललितपुर महानगरपालिकाको अध्यक्ष हुनु हुन्छ, त्यहाँको लागि के गर्दै हुनु हुन्छ ?
शिक्षा, स्वास्थ्य, सरसफाई, मौलिक संस्कृतिको संरक्षणका लागि आफुले सक्दो रुपमा कार्य गरिरहेको छु । विगतमा ललितपुर महानगरपालिकामा राप्रपाले पराजय भोग्नु परे पनि अर्को निर्वाचनमा हाम्रो पार्टीले जित्ने गरी हामी जनताको घरदैलोमा गइरहेका छौं । राप्रपाले यस महानगरपालिकामा पनि नागरण अभियान संचालन गरि सकेको छ । म कहाँ महानगरका वडा वडाका जनता आफ्ना समस्या लिएर आउछन् । म ती समस्या समाधानका लागि सक्दो सहयोग गरिरहेको छु । साथै युवाहरूलाई विदेशिन नपरोस भनेर स्वदेशमै रोजगारी दिलाउन सक्दो प्रयास गर्छु गरिरहेको छु ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!