नयाँ शैक्षिक सत्र अझै अन्योलमा

- August 10, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कोरोना महामारीका कारण गत ११ चैत २०७६ देखि देशभरका सम्पूर्ण स्कुल, कलेज तथा शैक्षिक संस्थाहरू बन्द छन् । झन्डै ३५ हजार विद्यालय ठप्प हुँदा ७१ लाख विद्यार्थी घरमै बस्न बाध्य भएका छन् ।

१ सय ३४ दिनदेखि भौतिक रूपमा उपस्थित भएर पठनपाठन हुन सकेको छैन । केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको बताए पनि त्यो प्रभावकारी देखिएको छैन । देशका अधिकांश विद्यालय अनलाइनको पहुँचबाहिर छन् । शैक्षिक सत्रका चार महिना बितिसक्दा पनि अब के हुने भन्ने अन्योल कायम रहेकाले अभिभावक चिन्तित देखिन्छन् ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालय सञ्चालन गर्ने निर्णय नभएको बताए । उनले भने, ‘विद्यालय पुनः सञ्चालन कार्यढाँचा बनेको छ । अन्तरमन्त्रालयगत छलफल भइरहेको छ । केही दिनभित्र स्कुलहरू पुनः सञ्चालन कार्यविधि सार्वजनिक गर्छौं । त्यसका आधारमा तयारी गर्नुप-यो, अब पहिलेको जसरी विद्यालय सञ्चालन हुँदैन ।’

विद्यालय पुनः सञ्चालन कार्यढाँचा बनेको छ । अहिले अन्तरमन्त्रालय छलफलमा छौं । केही दिनभित्र नै स्कुलहरू पुनः सञ्चालन कार्यविधि सार्वजनिक गर्छौं । अब जनस्वास्थ्यका मापदण्डहरू अपनाएर मात्रै विद्यालय सञ्चालनमा आउँछ ।
गिरीराजमणि पोखरेल, मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि

विद्यालयमा सुरक्षित रूपमा पठन पाठन गर्ने अवस्थाका लागि अध्ययन भइरहेको छ भने कोरोना संक्रमणको अवस्था हेरेर निर्णय हुने देखिन्छ । विद्यालय खुले पनि सुरुमा केही घण्टा मात्र पठन पाठन गर्ने सम्भावना देखिन्छ । थोरै विद्याथीलाई कक्षामा राख्ने गरी दुई सिफ्टमा समेत सञ्चालन गर्न सकिने राय विज्ञहरूले दिएका छन् । अनलाइन कक्षा सञ्चालन गर्ने विषयलाई पनि कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल जारी छ ।

विद्यालयमा विद्यार्थीको संख्या, कोरोना संक्रमण अवस्था, विद्यार्थीको तहगत अवस्थालाई आधार मानेर न्यूनतम जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्नुपर्छ ।
सुप्रभात भण्डारी, अध्यक्ष नेपाल अभिभावक महासंघ

शिक्षामन्त्री पोखरेलले सिटिईभिटीका कक्षाहरू अनलाइनबाट सम्भव नभएको भन्दै त्यसका लागि समेत तयारी थालिएको बताए । उनले स्वास्थ्य सामग्रीको प्रबन्ध गर्ने सुनिश्चिततासहित विद्यालयहरू सञ्चालनमा ल्याइने बताए । शैक्षिक सत्रलाई बचाउनकै लागि वैकल्पिक शिक्षा पद्धति अपनाइएको मन्त्रीले दाबी गरे । विद्यालयहरूले विद्यार्थी भर्ना भने १ भदौदेखि गर्नेछन् ।

शैक्षिक सत्र २०७७ मा विद्यालय सञ्चालन के कसरी गर्नेभन्ने सन्दर्भमा शैक्षिक सत्र मिलान गर्नका लागि दीपक शर्माको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

१५ भदौदेखि शैक्षिक सत्र सञ्चालन गर्न सक्ने अवस्था आए शैक्षिकसत्र अवरुद्ध हुँदैन । तर, त्यति बेला पनि सुरु भएन भने पाठ्यक्रम संशोधन गर्ने विकल्प रोज्न सकिन्छ ।
ऋतुराज सापकोटा, अध्यक्ष एनप्याब्सन

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले न्यूनतम स्वास्थ्यका मापदण्ड पालना गरेर कोरोना संक्रमण नभएको जिल्लामा विद्यालयहरू खोल्नुपर्ने बताए । उनले भने, ‘विद्यालयमा विद्यार्थीको संख्या, कोरोना संक्रमण अवस्था, विद्यार्थीको तहगत अवस्थालाई आधार मानेर न्यूनतम जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्नुपर्छ ।’
त्रिचन्द्र कलेज बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थी सवीना केसीले भनिन्, ‘परीक्षा कहिले हुने हो अनि पढाइ कहिले हुने ? केही अत्तोपत्तो छैन । के गर्नु चिन्ता लाग्न थालिसक्यो ।’

यसैबीच, एसईई परीक्षाको नतिजा अझै सार्वजनिक भएको छैन । यस्तै, कक्षा १ देखि १२ सम्म पठनपाठन लगायतका शैक्षिक गतिविधि भैतिक रुपमा नहुँदा विद्यार्थी अन्योलमा छन् । सरकारको नीति तथा कार्यक्रममा विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने उल्लेख छ । – प्रशान्त वली, राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!