चर्चा पाएपछि ‘मृदङ्गा’ झरनाको नाम विवादमा

- August 13, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

फिदिम : राम्रोलाई मनपराउने र आफ्नो बनाउने मानवीय स्वभाव हो। पछिल्लो समयमा राम्रो वस्तु, ठाउँ र नाम जातीय पहिचान, मौलिकता र अस्तित्वसँग जबरजस्त जोड्ने प्रचलन बढेको छ। 

अस्तित्व र पहिचनाको लडाईंमा जातीय संस्था लागेका छन्। पाँचथरको एउटा झरनाले निकै चर्चा पाएपछि मौलिकता र पहिचानको विषयलाई लिएर नाममा विवाद भएको छ।

झरना हेर्दा निकै आकर्षक र मनमोहक भएकाले यहाँ पर्यटकको भीड समेत लाग्ने गरेको छ। झरनाको चर्चापछि जबरजस्त नाममा विवाद गरिएको गाउँपालिकाले जनाएको छ। हिलिहाङ गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा रहेको झरनाको बारेमा विभिन्न माध्यमबाट प्रचार प्रसार भएपछि यसले चर्चा पाएको हो। चर्चापछि झरनाको नाममा बिवाद सुरु भएको छ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा उक्त झरनालाई ‘मृदङ्गा’ झरना भनेर नामकरण गरिएको छ। तत्कालीन जिल्ला विकास समितिले तयार पारेको पर्यटन गुरु योजनामा उक्त झरनालाई मृदङ्गा झरना भनेर लेखिएको छ। उक्त दस्तावेजको आधारमा मृदङ्गा झरना भनेर समाचार आएपछि लिम्बुजन्य संघ संस्थाले आपत्ति जनाएका हुन्।

लिम्बू भाषाका अगुवाले झरनाको नाम ‘मिलुङ’ अर्थात् ‘मिधुङ लुङ’ भनेर दाबी गरेका छन्। मौलिक नामलाई बिगारेर मृदङ्गा बनाउन खोजिएको उनीहरुको ठहर छ। ‘मिलुङ बाट मिरि ढुङ्गा, मिर्धाम्बा र मिरि ढुङ्गा मिर्धाम्बा बाट मृदङ्गा भएको हो,’ लिम्बू भाषा विकास संस्थाका अध्यक्ष दिलेन्द्र कुरुम्बाङ लेख्छन्, ‘यसरी झरनाको मौलिक नाममाथि प्रहार गरिएको छ।’

चैत–वैशाखमा घाम अस्ताउने बेलामा झरनाको ढुङ्गा आगोजस्तो रातो देखिने भएकाले लिम्बू भाषामा झरनालाई ‘मिलुङ’ भनिएको तर्क छ। ‘भदौ महिनामा घाम लागेको बेला पहरामा पुरै आगो जस्तो नै इन्द्रेणी मात्र देखिन्छ र मिधुङलुङ, मिवोःक्लुङ भनिएको हो,’ कुरुम्बाङको तर्क छ। अहिले नामको विषयमा विवाद झिक्ने कुरुम्बाङ तत्कालीन जिविसले तयार पारेको पर्यटन गुरु योजनामा विज्ञ सदस्यको रुपमा थिए। गुरु योजनामा मृदङ्गा झरना लेख्दा नामको विषयमा कुनै विवाद भएको थिएन।

अहिले झरनामा पर्यटकको भीड लागेर राम्रो चर्चा भएपछि अस्तित्व, मौलिकता र पहिचानसँग जोडेर नामको बखेडा झिकिएको एकथरीको तर्क छ।

किराँत याक्थुङ चुम्लुङ पाँचथरको नेतृत्वमा विभिन्न जातीय संस्था झरनाको मौलिक नामलाई नमेट्न भन्दै ज्ञापन–पत्र बुझाउन गाउँपालिका पुगेका छन्। उनीहरुले गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनलाई झरनाको नाम मिलुङ राख्न भन्दै ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले झरना आसपासमा मिलुङ झरना लेखेर बोर्ड समेत राखेका छन्।

यता गाउँपालिका अध्यक्ष लिङ्देन झरनाको नाम ‘मृदङ्गा’ नै भएको बताउँछन्। ‘म ७० वर्ष प्रवेश गर्न लाग्दैछु,’ लिङ्देन भन्छन्, ‘उहिलेदेखि नै यो झरनालाई मृदङ्गा भनिन्थ्यो र हरेक दस्तावेजमा पनि मृदङ्गा नै उल्लेख गरिएको हुँदा यो मृदङ्गा नै हो।’ कसैले जबरजस्त गर्दा नाम परिवर्तन नहुने लिङदेनको तर्क छ।

‘झरना गाउँपालिकाको साझा सम्पत्ति हो,’ उनी भन्छन्, ‘राम्रो भएर चर्चा पाएछि विवाद गर्नु राम्रो होइन।’

नाममा विवाद भएपनि यो झरनामा अहिले सयौँको संख्यामा स्थानीय पर्यटक आउने गरेका छन्। बिगत छ महिनादेखि यो झरनामा पर्यटकको भीड बढेको हो। नजिकैबाट मध्यपहाडी लोकमार्ग विस्तार भएपछि  यो झरना पर्यटकीय गन्तव्य बनेको छ। झरनामा रमाउन पाँचथरसहित ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, इलाम, झापा लगायतका ठाउँबाट पर्यटकहरु आउने गरेको झर्ना नजिकै होटल सञ्चालन गरेर बसेका सुरेश चापागाईंले जानकारी दिए। अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!