साउदीमा कामदारको बिचल्ली

- September 5, 2020 मा प्रकाशित

काठमाडौं : नौ महिना भयो राजु मुर्मुले रोजगारी गुमाएको। साउदीको जेद्दास्थित एयरपोर्टमा क्लिनरको काम गर्थे उनले। रोेजगारी गुमाए पनि सम्झौता अवधि नसकिएको भन्दै कम्पनीले अर्को ठाउँ काम गर्ने अनुमति दिएन। न त घर फर्किन दियो। उनी १३ जना नेपाली साथीसँग एउटा कोठामा कोचिएर बसेका छन्। तर, उनी स्वदेश फर्कन पाएका छैनन्।

मुर्मुसगै मोरङका महेन्द्र हेरमन(२६), महोत्तरीका नरेन्द्र सर्वरीया (३०), नवलपरासीका नरेन्द्र प्रसाद चौधरी (४८), धनुषाका रामनेपाल ठाकुर(५३), सिराहाका पाण्डव चमार (४०) लगायत छन्। उनीहरूमध्ये झापा बैगुनधुरा १ का मुर्मुले मात्र इन्टरनेट चलाउन जानेका छन्।

मुर्मुले भने, ‘विदेशमा कुन अवस्थामा बसेका छौं, यथार्थ देखाउन नेटको सहायता लिएका छौं।’ त्यो बिचलित समूहको नेतृत्व गरेर उद्घार गरिदिन आग्रह गरिरहेका छन् उनले साउदीबाट। इन्टेरनेट चलाउने पैसा नहुँदा हैरानी परेको उनले बताए।

मुर्मुले घरबाट ५० हजार रुपैयाँ मगाएर टिकट काट्न दिएका छन्। टिकटको ८४ हजार एक सय तिरेको उनको भनाइ छ। सामान्यत ७१ हजार जति लाग्ने गरे पनि बढी शुल्क तिर्न बाध्य भएको उनले बताए। उडान खुल्ने तय भएपछि उनले अगस्ट १५ मा सात हजार रुपैयाँ तिरेर पीसीआर परीक्षण गराए। तर, उनले सेप्टेम्बर १२ तारिखका लागि मात्र एउटा टिकट पाए। ‘पीसीआरको रिपोर्ट एक साताका लागि मात्र काम गर्ने भएकाले पुन परीक्षण गर्नुपर्ने हुन्छ’, मुर्मु भन्छन्,‘पटक पटक परीक्षण गर्ने पैसा कहाँबाट ल्याउनु।’खानेकुरा, पानीको संकट त छँदै छ। कम्पनीले उनीहरू बस्दै गरेको कोठा खाली गर्न भनेपछि तनावमा छन्। उनले भने, ‘सातादिन समय दिएको छ, खै कहाँ, कसरी बस्ने हामी।’

उनी ऋण खोजेर घर आउने पर्खाइमा छन्। तर, उनका साथीहरूसँग एक रुपैयाँ छैन। घरबाट पैसा पठाउन सक्ने अवस्था छैन। आफूभन्दा धेरै बिजोग झेल्दै गरेका साथीहरूको पीडाले उनलाई पोल्न थालेको छ। ‘म गएपछि यिनीहरूको आवाज ठाउँमा पुर्‍याउने कोही हुने छैनन्’, उनले भने।

महोत्तरीका सर्वरिया र मोरङका हेमरनसँग एक रुपैयाँ पनि छैन यतिबेला। ६÷७ महिनादेखि बेरोजगार छन्। सर्वरियाले भने, ‘सरकारले उद्घार गरेन भने हामी यही सडेर मर्नेछौं, मरे पनि नेपालमै मरौला, उद्घार गरिदिनुहोस्।’ खानलाई जसोतसो नुन, रोटी खाए पनि नेपाल आउन ठूलो समस्या भएको बताए। हेमरनले भने, ‘म जस्ता थुप्रो छन्, जो खाडीमा मर्न चाहँदैनन्। जन्मभूमि फर्कन पाउँ।’

नवलपरासीका चौधरी, धनुषाका ठाकुरलाई कम्पनीले पासपोर्ट फिर्ता दिन अस्वीकार गरेको छ। सम्झौतामा कम्पनीले दिएअनुसार म्याद बाँकी रहेकाले पासपोर्ट दिन अस्वीकार गरेको उनीहरूले बताए।

पासपोर्ट लिन चौधरीलाई एक लाख ८७ हजार र ठाकुरलाई १ लाख २५ हजाररुपैयाँ कम्पनीले मागेकोे छ। चौधरीले भने, ‘सात महिनादेखि काम टुटेको छ। कसरी पैसा दिने? १२ वर्षदेखि काम गरिरहेको मलाई उल्टै बोनस दिनुपर्ने हो। घर आउँदा पनि पैसा तिर्नु पर्ने? ’

उनीहरू बसिरहेको ठाउँबाट कम्पनीले निस्कन साता दिनको समय दिएको छ। बसेको ठाउँमा ग्यास सकिन लागेको छ। कम्पाउन्डमा पानी आउन छोडिसक्यो। नजिकै मस्जिदबाट पानी ओसार्नुपर्ने बाध्यता छ। एक, दुई रुपैयाँको रोटी किनेर पेट भर्दै गरेको उनीहरूले सुनाए।

खाडीबाट पठाएको रेमिटेन्समार्फत सरकारले आर्जन गरे पनि अति नै समस्यामा पर्दा आफ्ना नागरिकको आवाज नसुनेकोमा उनीहरूको आक्रोश छ। – नितु घल, अन्नपूर्णबाट

प्रतिक्रिया