काेरेनाकाे रिपोर्ट थाहा पाउन सोर्सफोर्स

- September 11, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रिपोर्ट थाहा पाउन सोर्सफोर्स

विराटनगर : घटना १

भदौ १३ मा विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आयो। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्धको शव आफन्तले दाहसंस्कार गर्न लैजाँदै गर्दा रिपोर्ट आएको हो।

त्यतिबेला आफन्तले शव मोरङको कानेपोखरी पुर्‍याइसकेका थिए। शवलाई घर पुर्‍याएर धार्मिक परम्पराअनुसार अन्तिम संस्कारका लागि घाट लाने तयारी गरिएको थियो। तर, रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले शवलाई कानेपोखरीमै रोकेर नेपाली सेनाको ‘बडी’ व्यवस्थापन टोलीलाई जिम्मा लगायो।

घटना २

यही भदौ ६ मा मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको राति मृत्यु भयो। श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनलाई तत्काल कोसी अस्पताल लगिएको थियो।

एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। आफन्तले ती पुरुषको शव घरमा ल्याए। परिवारका सदस्यले मधुमेहको पुरानै समस्याका कारण उनको मृत्यु भएको हुन सक्ने अड्कल काटे। तर, उनमा कोरोना संक्रमण भएको दाहसंस्कार गर्न घाट लैजाने बेलामा मात्रै थाहा भयो। वडाध्यक्ष विजय कामतले मृतकमा कोरोना संक्रमण रहेकाले घाटमा लैजान नमिल्ने बताए। त्यसपछि नेपाली सेनाको टोली आएर शव लिएर गयो।

ती पुरुषको पीसीआर रिपोर्ट भने निधन हुनुभन्दा दुई दिनअघि आएको थियो। रिपोर्ट पोजेटिभ आएको खबर प्रयोगशालाले प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकालाई जानकारी दियो। दुवै निकायले कोरोना देखिएकोे खबर समयमै सम्बन्धित व्यक्ति र परिवारलाई दिएनन्। मृत्युको पीडासँगै मृतकका परिवार, आफन्त र छिमेकीको पीसीआर परीक्षण गर्नुपर्‍यो।

घटना ३

भदौ २० मा मोरङका एक पुरुषको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो। १९ गते विहान ३ बजेर ४० मिनेटमा विराट मेडिकल टिचिङ हस्पिटलमा मृत्यु भएका मोरङ बूढीगंगा गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको रिपोर्ट ढिलो आएको हो।

माथि उल्लेख गरिएका प्रतिनिधि घटना मात्रै हुन्। कोरोना भाइरसको पीसीआर परीक्षणको रिपोर्ट ढिला आउँदा प्रदेश १ मा समस्या झनै जटिल बन्न थालेको छ। कोरोना संक्रमण बढ्दै गर्दा लक्षण देखिएका वा सम्पर्कमा भएकाको मात्रै होइन मृत्यु भएकाहरूको पनि समयमा पीसीआर रिपोर्ट आउँदैन। जसले संक्रमणको जोखिम झनै बढाएको छ।

परीक्षणको रिपोर्ट व्यक्तिले समयमा पाउँदैनन्। ‘परीक्षण गराएको पाँच दिनमा पनि रिपोर्ट आएन, छैटौं दिनमा सोर्स फोर्स लगाएर मात्रै बल्ल रिपोर्ट थाहा भयो’ विराटनगर १ की सुनम लिम्बूले भनिन् ‘धन्न रिपोर्ट नेगेटिभ आएछ, पोजेटिभ आएको भए कतिलाई सरिसक्ने थियो।’ प्रदेश १ का तीन स्थानमा कोरोनाको पीसीआर परीक्षण हुन्छ। कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र झापाको मेची अस्पतालमा पीसीआर परीक्षण भए पनि यसको जानकारी सामाजिक विकास मन्त्रालय हुँदै स्थानीय तह र सम्बन्धित स्वास्थ्य कार्यालयलाई दिने गरिन्छ।

‘ज्वरो, खोकी र रुघा लागेपछि पीसीआर परीक्षणका लागि स्वाब दिएँ त्यो स्वाब जिल्लामा एक दिन राखिएछ, ‘भोलि १० जनाको संकलन गरेर मात्रै जिल्ला बाहिर पठाइयो पाँच दिनमा पनि रिपोर्ट नआएपछि नेताको फोर्स लगाएर छैटौं दिनमा थाहा पाएँ’, ताप्लेजुङका सञ्चारकर्मी सजन पौडेलले भने। ‘यता पोजेटिभ आउला भने तनाव, रिपोर्ट खोज्नै झन्डै एक साता लाग्यो’, उनले गुनासो सुनाए। तीन वटा प्रयोगशालाको जाँचमा पछिल्लो समय दैनिक एक सयको हाराहारीमा पोजेटिभ रिपोर्ट आउँछ।

नेगेटिभभन्दा ढिला पोजेटिभ रिपोर्ट आउने गरेको संक्रमण पुष्टि भएकाहरूको गुनासो छ। ‘दमकको विद्युत् प्राधिकरणका १ सय ३५ कर्मचारीको एकैपटक स्वाब दिएको थियो, नेगेटिभ आउने १ सय ५ जनाको अघिल्लै दिन जानकारी आयो। तर, बाँकी ३० जना पोजेटिभ भएको भोली मात्रै रिपोर्ट दिइयो,’ ३० जनामध्येकै एक संक्रमित कर्मचारीले भने, ‘यसले मानसिक तनाब त बढायो नै, अन्यलाई सर्ने जोखिम झनै बढ्यो।’

प्रदेश सरकारले परीक्षण दर बढाउँदै रिपोर्टलाई व्यवस्थित गरिरहेको बताए पनि उक्त निर्णयको प्रभाव देखिएको छैन। संक्रमितको तथ्यांक राख्ने र यसबारेका अन्य सूचना पठाउने सामाजिक विकास मन्त्री नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेपछि यसको व्यवस्थापन थप लथालिंग बनेको छ। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की यसलाई व्यवस्थित गर्न सीसीएमसीको बैठकमा छलफल भएको बताउँछन्। ‘देखिएका समस्याका विषयमा गम्भीर छलफल भएको छ,’ उनले भने ‘अब मरेपछि रिपोर्ट आउने वा जानकारी पुग्ने क्रम नहोला।’अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!