ज्योति ग्रुपमा दाजुभाईको झगडा…

- September 14, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ब्यापारिक घराना ज्योति समूहको आन्तरिक विवाद प्रहरीसम्म पुगेको विषय सार्वजनिक भइसकेको छ । आगामी उद्योग बाणिज्य महासंघको उपाध्यक्षका उम्मेदवार सौरभ ज्योति, उनका भाइ सुहृद ज्योति र पिता पद्मज्योतिले डा. रुपज्योतिलाई थाहै नदिई उद्योग नामसारी गर्ने, उद्योगका घरजग्गा बिक्री गर्ने कार्य गर्दैआएका छन् । स्व. मणिहर्ष ज्योतिले आफू छँदै २ छोरा पद्मज्योति र रुपज्योति र एक अविवाहित छोरीका नाममा तीन भाग लगाइदिएका थिए । उद्योगी घराना ज्योति समूहभित्र सम्पत्ति बाँडफाँट र आफ्ना कम्पनीहरू माथिको नेतृत्वको विवाद यतिबेला उत्कर्षमा छ । मणिहर्ष ज्योतिले खडा गरेको नेपालको प्रतिष्ठित उद्योगी घराना भित्रको यो पारिवारिक किचलो तत्कालै सुरू भएको भने होइन । क्यान्सरका कारण २७ वर्ष अघि दिवंगत काठमाडौं महानगरपालिका वडा नम्बर १, जमलमा बस्ने मणिहर्ष ज्योति साधारण व्यक्ति मात्रै थिएनन्, उनी अहिलेको मूल्यमा अर्बौं रुपैयाँको साम्राज्य खडा गरेका नेपालका प्रतिष्ठित पायोनियर उद्योगपति थिए ।  उनले ८० वर्ष अघि सुरु गरेको यो व्यवसायिक साम्राज्य, जसलाई अहिले ज्योति समूहका रूपमा चिनिन्छ, त्यो अहिले पारिवारिक विवादको केन्द्रमा छ । त्यो विवाद बढ्दै जाँदा त्यसलाई कसले नेतृत्व गर्ने भन्ने विवादसमेत चर्किएको छ । मणिहर्षको निधनपछि २७ वर्षसम्म ज्योति समूहको त्यो विरासत अध्यक्षका रूपमा उनका जेठा छोरा पद्म ज्योतिले सम्हालेका थिए । तर आइतबार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक सूचनाअनुसार ज्योति समूहको अध्यक्षमा रूप ज्योति चयन भएका छन् । आखिर ८० वर्षअघि जग हालिएको ज्योति समूहमा अहिले विस्फोट भएको यो विवाद के हो? के यो विवाद सम्पत्ति वा त्यसको बाँडफाँडसँग सम्बन्धित छ? हो भने ज्योति समूह कसरी सञ्चालन हुन्छ? त्यसका साझेदार को(को हुन ? ज्योति समूहको यो पाटोमा धेरै सीमित सूचना मात्रै सर्वसाधरणमाझ उपलब्ध छन् । त्यही सेरोफेरोमा रहेर बिजमाण्डूले ज्योति समूहको अहिलेको विवादको मूल कारण के हो भनेर खोज्ने प्रयास गरेको छ ।

ज्योति समूहलाई नेपालको सबैभन्दा ‘क्यास रिच’ कम्पनीभन्दा फरक पर्दैन । कारण, ज्योति समूहले लगानी गरेका सबै संस्था या त व्यवसायिक रूपमा सफल छन्, या ती कम्पनीले सम्पत्तिमा गरेको लगानीबाट भएको मूल्य अभिवृद्धिले ती अझ बढी मूल्यवान बनेका छन् ।ज्योति समूहका कम्पनीसँग काठमाडौंसँगै देशभरका ठूला औद्योगिक शहरमा प्रशस्त मात्रामा जग्गा जमिन छ भने समूहका कम्पनीको ऋण एक्सपोजर ज्यादै न्यून छ । ज्योति समूहले मोटरसाइकलदेखि कार बिक्री कम्पनीसम्म, डण्डीदेखि अक्सिजन ग्यास उत्पादन गर्ने उद्योग, बैंकदेखि इन्स्योरेन्स कम्पनी, औषधी उद्योगदेखि अस्पताल, हवाई टिकट बेच्ने ट्राभल एजेन्सीदेखि आयात(निर्यात सहज गर्ने लजिस्टिक कम्पनीसम्ममा लगानी गरेको छ । ज्योति समूह निजी क्षेत्रले प्रवर्द्धन गरिरहेको देशकै सबैभन्दा ठूलो जलविद्युत कम्पनीमध्येको एक बुटवल पावर कम्पनीको समेत प्रवर्द्धक हो । बाहिरबाट ज्योति समूहको सगोलमा उद्योग र व्यापार देखिए पनि त्यो भने ४० वर्ष अघि नै छुट्टिभिन्न भएको दाबी भाई रूप ज्योतिले गरे । उनले भने, ’भोलि दाजुभाईबीच सम्पत्तिको विवाद हुन सक्छ भन्ने सोचेर ४० वर्ष अघि नै बुबाले हामीलाई सम्पत्ति, सेयर सबैको बाँडफाँड गर्नुभएको छ ।’ तर ४० वर्ष अघि छुटभिन्न भए पनि ज्योति दाजुभाई (पद्म ज्योति र रुप ज्योति) को परिवार जमलमा विश्वज्योति हलभन्दा पछि एउटै कम्पाउण्डमा फरक फरक घरमा बस्दै आएका छन् । त्यसैगरी जमल कान्तिपथको एउटै कमाउण्डबाट दुवै दाजुभाईका परिवारको अफिससमेत सञ्चालनमा छ । एउटै कम्पाउण्ड भित्रका घर, एउटै कम्पाउण्ड भित्रका अफिस हुँदा पनि दाजुभाईबीच अहिले विज्ञप्ति ’वार’ चलिरहेको छ । गत बिहीबार दाजु पद्म ज्योतिले ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल र त्यसका सेयरधनी भाई रुप ज्योतिको नाममा विज्ञप्ति जारी गरे । उनले आफ्नो भवनको केही हिस्सासमेत भाडामा लिएर सञ्चालनमा रहेको ग्राण्डी सिटी अस्पताल अवैध भएको मात्रै दाबी गरेनन्, उनले त्यसमा आफ्नो कुनै लगानी नभएको र आफूले भाडा समेत नपाएको दाबी गरे । अवैध ढंगले अस्पताल सञ्चालन गरेको सनसनीखेज आरोप दाजुले लगाएपछि त्यसको तीन दिनपछि आइतबार भाई रुप ज्योतिले विज्ञप्तिमार्फत नै त्यसको जवाफ दिएका छन् । उनले नियमित भाडा (एक करोड ३४ लाख ४० हजार रुपैयाँ) मात्रै नभएर एडभान्स (तीन करोड दुई लाख २१ हजार सात सय ५० रुपैयाँ)मा समेत दाजुको बैंक खातामा जम्मा गरेको दाबी गरेका छन् । साथै उनले दाजु पद्म ज्योतिसमेत अझै पनि ग्रान्डी सिटी क्लिनिक एण्ड हस्पिटलको सेयर साझेदार भएको दाबी पनि गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ’अस्पतालको सेयर सदस्यहरुमा स्याकर कम्पनी प्रालि, जय स्पिनिङ मिल्स प्रालि र नेपाल जेनलर मार्केटिङ प्रालि रहेकोमा सेयर सदस्य कम्पनीको सेयर सदस्य तथा सञ्चालक पद्म ज्योति आफैं हुनुभएकोमा निजले प्रकाशन गरेको विज्ञप्तिप्रति अस्पताल खेद व्यक्त गर्दछ ।’

आइतबार नै ज्योति समूहका नाममा अर्को एउटा सूचना जारी गरिएको छ । जहाँ रूप ज्योतिलाई नवनियुक्त अध्यक्षका रूपमा बधाई दिइएको छ भने २७ वर्षसम्म अध्यक्षका रूपमा नेतृत्व गरेकोमा पद्म ज्योतिलाई धन्यवाद दिइएको छ । ज्योति समूह अन्तर्गतका १८ वटा कम्पनीका तर्फबाट जारी सूचनामा भनिएको छ, ‘यस ज्योति समूहका कम्पनीको मिति २०७७ वैशाख १० गते तथा सोभन्दा अगाडिको मितिहरुमा सम्पन्न साधरणसभाबाट अध्यक्ष पदमा चयन हुनु भएकोमा डा. रूप ज्योतिज्यूलाई सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई जापन गर्दछौं । साथै २७ वर्षसम्म अध्यक्ष पद सम्हाली नेतृत्व प्रदान गर्नु भएकोमा निवर्तमान अध्यक्ष पद्म ज्योतिज्यूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।’ र ज्योति समूहका नाममा १८ वटा कम्पनीका तर्फबाट जारी गरिएको यही सूचनामा ज्योति परिवार भित्रको विवाद पनि लुकेको छ । काठमाडौंका रैथाने भाजुरत्न कंसाकार नेपाल–तिब्बतको व्यापारमा थिए । पछि उनका छोरा मणिहर्ष ज्योति पनि विस्तारै व्यापारमा प्रवेश गरे । उनलेआफ्नो व्यापार नेपालसँगै भारतसम्म विस्तार गरे । उनीसँग दक्षिण भारतमा फलाम खानीसमेत थियो । खानीबाट निकालेको फलामको कच्चा पदार्थ उनले भारतमा बेच्नेदेखि लिएर जापान र युरोपसम्म निर्यात गर्न थाले । पछि उनले फलामको कारोबार नेपालमा पनि स्थापना गरे ।  यसरी सन् १९४० मा मणिहर्षले संस्थागत गरेको ज्योति समूह अहिले देशकै सबैभन्दा ठूलो व्यवसायिक घरानामध्येको एक भएको छ । र यो समूह एउटा ज्यादै ’कम्पलेक्स’ सेयर संरचनाबाट चलेको छ । जसको सुरुवात मणिहर्षले ४० वर्ष अघि सम्पत्ति र सेयर बाँडफाँट गर्दा भएको थियो । मणिहर्षले सम्पत्ति बाँडफाँट गर्दा बराबर तीन हिस्सामा बाँडेका थिए । एउटा हिस्सा उनले आफूसँगै राखेका थिए, दोस्रो हिस्सा जेठा छोरा पद्म ज्योतिलाई दिए भने तेस्रो हिस्सा कान्छा छोरा रूप ज्योतिलाई दिए । मणिहर्षका तीन छोरी पनि थिए । उनले त्यतिबेलै आफूसँगको केही जग्गाजमिन दिएर दुई छोरीको बिहेवारी गरिदिए । काठमाडौंको प्राइम ठाउँमध्ये कान्तिपथको नौ रोपनी जग्गा दुई दाजुभाईलाई साढे चाररसाढे चार रोपनीका दरले बाँडिदिए । जहाँ अहिले भुईंतलामा एकातर्फ होण्डाको शोरुम सञ्चालनमा छ भनेअर्कोतर्फ हिरो मोटरसाइकलको शोरुम छ । अहिले दाजुभाईबीच विज्ञप्ति ‘वार’ चलिरहेको ग्राण्डी सिटी हस्पिटल पनि यहीं सञ्चालनमा छ ।

रूप ज्योतिले आफू पट्टिको भवनमा सञ्चालन गरेको अस्पताल पद्म ज्योति पट्टिको भवनको माथिका दुई तला समेत भाडामा लिएर सञ्चालन गरिरहेका छन् । अस्पतालभन्दा माथिका केही तला भने पद्म ज्योति, छोरा सौरभ र सुहृद ज्योतिले आफ्नो कार्यालय चलाइरहेका छन् । दुई दाजुभाईलाई कान्तिपथको जग्गा बराबर बाँडिदिएपछि मणिहर्षले आफ्नो एक हिस्सा अन्तर्गत जमलमा विश्वज्योति पछाडिको साढे चार रोपनी जग्गा आफ्ना लागि राखेका थिए । जहाँ अहिले पनि पद्म ज्योति र रूप ज्योतिको परिवार बस्दै आएको छ । २७ वर्ष अघि सन् १९९२ मा क्यान्सरका कारण मणिहर्षको निधन भयो । उनको नाममा रहेको घरजग्गा तथा सेयर श्रीमति केशरी लक्ष्मी कंसाकारको नाममा नामसारी भयो । केही वर्ष अघि केशरी लक्ष्मीको पनि निधन भएपछि अहिले त्यो सम्पत्ति र सेयर कमला कंसाकारको नाममा आएको छ । कमला कंसाकार मणिहर्षकी तीन छोरीमध्ये अविवाहित छोरी हुन् । जमलको जग्गाबाहेक अन्य सबै सेयर सम्पत्ति ज्योति समूहका विभिन्न कम्पनीले होल्डिङ गर्छन् । ज्योति समूह भित्रका दुई ठूला कम्पनी स्याकार ट्रेडिङ र नेपाल जेनरल मार्केटिङबाहेक अन्य सबै कम्पनीमा सेयर साझेदार र लगानीको स्ट्रक्चर भने एउटै हुन्छ । होण्डा मोटरसाइकलको अधिकृत बिक्रेता स्याकार ट्रेडिङमा पद्म ज्योतिका दुई छोरा सौरभ र सुहृद मात्रै सेयरधनी छन् भने हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङमा रूप ज्योतिका छोरा अभिक ज्योति र छोरी सुरुचि ज्योति मात्रै सेयरधनी छन् । त्यसबाहेक ज्योति समूहका अधिकांश कम्पनीमा या त ज्योति समूहकै कम्पनी सेयर साझेदार छन् या त पद्म ज्योति, रूप ज्योति र कमला कंसाकार गरेर बराबर तीन हिस्सेदार छन् ।  जस्तो बुटवल पावर कम्पनीको सबैभन्दा ठूलो सेयरधनीमध्ये एक सांग्रिला इनर्जी हो । सांग्रिला इनर्जीमा ज्योतिदेखि पञ्चकन्या समूहसम्म सेयरधनी छन् । सांग्रिला इनर्जीमा ज्योति समूहका तर्फबाट ज्योति एण्ड कम्पनी संस्थापक सेयरधनी छ । ज्योति एण्ड कम्पनीमा पद्म ज्योति, रूप ज्योति र कमाला कंसाकार गरेर बराबरका तीन साझेदार छन् । ज्योति समूह भित्रका दुई ठूला स्याकार ट्रेडिङ र नेपाल जेनरल मार्केटिङबाहेक अधिकांश कम्पनीमा यही सेयर संरचना रहेको दाबी रूप ज्योतिले गरे ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा सौरभ ज्योतिले भने बुधबार मात्रै भेट्ने प्रतिक्रिया दिए । धेरै कम्पनीको आफ्नै कारोबार छ, जुन कम्पनीसँग आफ्नो कारोबार छैन्, ती कम्पनी होल्डिङ कम्पनीका रूपमा रहेको रूप ज्योतिले बताए । जस्तो ज्योति समूह भित्रका स्यामुकापु एण्ड कम्पनी, भाजुरत्न एण्ड कम्पनी, हिमाल एण्ड कम्पनी र ज्योति एण्ड कम्पनीको आफ्नो कुनै कारोबार छैन्, यी कम्पनी अन्य कम्पनीका होल्डिङ कम्पनी हुन् । त्यस्तै मध्येको एक स्याकार (स्याकार ट्रेडिङ अर्को फरक कम्पनी हो) कम्पनी पनि हो । हिरो र होण्डा टुक्रिनु पहिले ती कम्पनीको कारोबार स्याकार कम्पनीले गर्दथ्यो । त्यो कम्पनीसँग धेरै नाफा पनि हुन्थ्यो, त्यही भएर त्यो कम्पनीले विभिन्न ठाउँमा लगानी गरेको रूप ज्योतिले बताए । जस्तो सगरमाथा इन्स्योरेन्स कम्पनीमा हिमालय एण्ड कम्पनी, ज्योति एण्ड कम्पनी र भाजुरत्न एण्ड कम्पनी सबैसँग १.९६ प्रतिशतका दरले सेयर छ । त्यसैगरी हिमालयन बैंकमा स्याकार कम्पनीसँग ०.९९ प्रतिशत सेयर छ ।
त्यही स्याकार कम्पनी, जय स्पिनिङ मिल्स र नेपाल जेनरल मार्केटीङ ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटलको सेयर साझेदार पनि हो । स्याकार कम्पनी र जय स्पिनिङ मिल्सको अन्तिम हिताधिकारीमा पद्म ज्योति, रूप ज्योति र कमला कंसाकार छन् । त्यही कारण ज्योति समूहमा पद्म ज्योति, रूप ज्योति र कमला कंसाकार तीन जनामध्ये दुई जना सेयरधनी एक ठाउँमा आउना साथ दुई तिहाई बहुमत हुन्छ । जस्तो अहिले ज्योति समूहका कम्पनीमा रूप ज्योति र कमला कंसाकार एक ठाउँमा हुँदा पद्म ज्योति अल्पमतमा परेका छन् । यही कारण ज्योति समूहका कम्पनीहरुको विशेष साधारणसभाले पद्म ज्योतिलाई अध्यक्षबाट हटाएर रूप ज्योतिलाई अध्यक्ष बनाएको छ । अनि तपाईंले दाजु पद्मलाई ज्योति समूहको कम्पनीको अध्यक्षबाट किन हटाएको हो? भन्ने प्रश्नको जवाफमा रूप ज्योतिले कम्पनीका नाममा रहेको जग्गा तथा सम्पत्ति दाजुको परिवारले हडप्न थालेपछि आफू र बहिनी कमलाले दुई तिहाइ बहुमतबाट हटाएको दाबी गरे ।
ज्योति समूहका सम्पत्तिमध्ये विभिन्न कम्पनीसँग परवानीपुरमा सयौं बिघा जग्गा छ ।

त्यसमध्ये एक कम्पनी म्यानेजमेन्ट सर्भिसेजसँग परवानीपुरमा पाँच बिघा जग्गा थियो । जहाँ ज्योति परिवारको गेस्ट हाउस सञ्चालित छ । त्यो जग्गा म्यानेजमेन्ट सर्भिसेजका अध्यक्षको रूपमा पाएको अख्तियारी दुरुपयोग गरेर पद्म ज्योतिले जुनि गुरुङलाई बिक्री गरेको आरोप रूप ज्योतिले लगाएका छन् । ’सडकमा भएको त्यो जग्गाको बजार मूल्य अहिले ७० करोडभन्दा बढी छ, तर २३ करोडको थैली राखेर सौरभले साथी जुनी गुरुङलाई बिक्री गरेको देखाइएको छ,’ रूप ज्योतिले भने । ‘तर त्यसको कुनै बैंक कारोबार छैन’ उनले भने, ’त्यसको अर्थ जालसाजी गरेर त्यो जग्गा हामीसँग हडप्न खोजेको हो ।’ उनले म्यानेजमेन्ट सर्भिसेजको अन्तिम हिताधिकारीका रूपमा ६६ प्रतिशतका साझेदार आफू र बहिनीलाई त्यस विषयमा कु्नै जानकारी नभएको समेत दाबी गरे । उनले त्यसविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको समेत जानकारी दिए । ’त्यस्तै अवस्था अन्त पनि आएको छ, आउन लागेको छ, त्यही भएर हामीले दाईलाई अध्यक्षबाट हटाएका हौं तर उहाँ अझै पनि ती कम्पनीहरुमा सञ्चालक हुनुहुन्छ,’ रूप ज्योतिले भने । त्यसैगरी ट्रयाक्टरको स्टकमा पनि त्यस्तै जालसाजी भएको दाबी रूप ज्योतिले गरे । ज्योति समूहको कम्पनी भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स एउटा ट्रयाक्टर ब्राण्डको नेपाल बिक्रेता हो । उसँग ट्याक्टरको ठूलो स्टक थियो । आफ्नो सेयर होल्डिङमा भाजुरत्न ट्रेडिङ नामको उस्तै कम्पनी खडा गरेर पद्म ज्योतिका छोरा सुहृदले त्यो स्टक भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्सबाट सारेको आरोप समेत रूप ज्योतिले लगाए । ‘हामी सबै कम्युटर बिलिङ गर्छौं, त्यसको एक्सेस सुहृदसँग थियो । उसले त्यो स्टक भाजुरत्न इन्जिनियरिङबाट बिना पैसाको भुक्तानी भाजुरत्न ट्रेडिङमा सारेको पाइयो,’ उनले भने । उनले त्यसविरुद्ध पनि प्रहरीमा उजुरी दिएको जानकारी दिए ।
पहिले पहिले काठमाडौंका सम्पन्न नेवार परिवार भित्र विवाद हुँदा भाईसाथीहरु मिलेर त्यसलाई टुंगो लगाउँथे । ज्योति परिवारमै समस्या सिर्जना भएपछि त्यसलाई मिलाउन कठिन भइरहेको छ । ‘त्यो पनि सानो तिनो समस्या हुन्थ्यो भने हल गर्न सहज हुन्थ्यो, यो त बढेर विस्फोटक बनेको छ,’ यो मामिलामा मध्यस्थता गर्न प्रयास गरिरहेका एक जना ज्योति परिवारका पारिवारिक हितैषीले बताए । ‘ज्योति समूह भित्रको अहिलेको मूल विवाद भनेको ३३ प्रतिशतको साझेदार अविवाहित बहिनीलाई कसले प्रभावित गर्ने भन्ने देखिन्छ,’ यो विषयलाई नजिकबाट नियालेका उनले सँग भने । त्यसबाहेक हिरोको मोटरसाइकल बिक्रीबाट हुने आम्दानीलाई लिएर रूप ज्योति परिवारले इर्ष्या गर्ने र रूप ज्योतिले घरजग्गाको कारोबारबाट गरेको सम्पत्ति सिर्जनालाई लिएर पद्म ज्योतिको परिवारले इर्ष्या गर्ने गरेको समेत उनले बताए । ‘ज्योति परिवार भित्रको विवाद पहिलेदेखि नै सुषुप्त थियो तर भारतमा हिरो र होण्डा छुट्टिएपछि नेपालमा यो झन धेरै झांगियो,’ स्रोतले बतायो । भारतमा हिरो र होण्डा छुट्टिँदा नेपालमा ज्योति परिवारलाई छुट्टिनका लागि सजिलो भएको आम बुझाई थियो, तर परिवार भित्र यसले विवाद अझ बढाएको स्रोतको दाबी छ ।
भारतमा हिरो र होण्डा छुट्टिएपछि नेपालमा त्यसको कारोबार पनि विभाजन भयो । यसले परम्परागत संरचनामा चल्दै आएको ज्योति समूहलाई पनि विभाजन गर्यो । होण्डाको व्यापार पद्म ज्योतिको परिवारले नयाँ कम्पनी स्थापना गरेर लियो भने हिरोको व्यापार नयाँ कम्पनी स्थापना गरेर रूप ज्योतिको परिवारले लियो । पुराना सेयरधनी केशरी लक्ष्मी, पद्म ज्योति र रूप ज्योति नभई परिवारका अरु सदस्यलाई सेयरधनी राखेर नयाँ कम्पनी खडा गरे पनि दुवै कम्पनीको मुनाफा पुरानै बास्केटमा हाल्ने कुरा भएको थियो । तर त्यो मौखिक सहमति पालना भएन । होण्डाको राम्रो व्यापार थियो, त्यसको मुनाफा पनि धेरै थियो । हिरोको व्यापारका लागि नयाँ सेटअप तयार गर्नुपर्यो, लगानी ठूलो भयो, नयाँ कम्पनीका नयाँ मोडलले बजारमा प्रभाव जमाउन नसकेपछि त्यो कम्पनी घाटामा गयो ।
मौखिक सहमतिअनुसार स्याकार ट्रेडिङको मुनाफा पुरानो बास्केटमा नआएपछि रूप ज्योति, पहिले आमा केशरी लक्ष्मी र पछि बहिनी कमला पनि पद्म ज्योतिको परिवारसँग रुष्ट हुँदै गए । त्यसलाई आगोमा घ्यु लगाउने काम जग्गा काण्डमा रूप ज्योति पक्राउ परेपछि भयो । विकेन्द्र मल्लको उजुरीमा ज्योति पक्राउ परेपछि त्यसको स्वामित्व पद्म ज्योति परिवारले पनि लिन्छ भन्ने विश्वास रूपको परिवारलाई थियो । तर त्यसको उल्टो पद्म ज्योति परिवारले त्यस प्रकरणबाट हात झिक्यो । भाईका लागि गर्नुपर्ने लविङ पनि गरेनन् । त्यसपछि रूप ज्योति दाजुसँग बिच्किन थाले । विकेन्द्र मल्लसँग विवादित जग्गामा पनि अन्तिम हिताधिकारीका रूपमा एक जना लाभग्राही पद्म ज्योतिसमेत थिए । नाफा हुँदासम्म केही नभन्ने तर अप्ठ्यारो पर्दा हात झिक्ने भएपछि रूप ज्योतिले बहिनी कमलाको साथ लिएर विस्तारै दाजु पद्म ज्योतिलाई विभिन्न कम्पनीको अध्यक्ष पदबाट हटाउँदै जान थाले ।

परिणाम अहिले दाजु भाईबीच घर भित्र वर्चस्वको लडाई मात्रै चलिरहेको छैन्, घरबाहिर अदालतमा जालसाजीको मुद्दा, प्रहरीमा ठगीको मुद्दा र मिडियामा विज्ञप्तिको द्वन्द्व पनि चलिरहेको छ । मणिहर्ष ज्योतिको निधनपछि उनकी श्रीमतीसहित परिवारमा मेलमिलाप थियो । रुपज्योति विपश्यना ध्यान गर्ने र अन्तराष्ट्रिय रुपमा ब्यापार विस्तारमा लागे । दाजु र भतिजा सौरभ र सुहृदको विश्वासमा परेका उनको कीर्ते हस्ताक्षर गरी बीरगंजको परवानीपुरमा रहेको गेष्टहाउसको ५ बिगाहा जमिन बिक्री गर्नेदेखि भाजुरत्न इन्जीनीयरिङको नाममा रहेको आदर्शनगर बीरगंजको घर तथा सोले चर्चेको जग्गा जमिन कुनै रकम कम्पनीमा दाखिला नगराई आफूखुसी आफ्नो मानिसलाई बिक्री गरेको थाहा पाए । डा. रुपज्योति र बहिनीको सम्पत्ति समेत एक्लौटी खाँदैआएका पद्मज्योति र उनका छोराहरुले रुपज्योतिले एकपछि अर्को हिसाबकिताव खोज्न थालेपछि एकपछि अर्को सम्पत्ति बिक्री गरे । तर त्यो बिक्री गरेको कुनै पनि सम्पत्ति कम्पनीमा नदेखाई घोपाला गरेपछि ज्योति समूहमा विवाद निम्तिएको छ । मणिहर्ष ज्योतिको अंश हक लाग्नेमध्ये रुपज्योति र उनकी बहिनी एकातिर छन् भने पद्मज्योति अर्कातिर छन् । पद्मज्योति र उनका छोरा सौरभ र सुहृदले रुपज्योति र बहिनीको हक लाग्ने भाजुरत्न मेसी फर्गुसन ब्रान्डको ट्याक्टरको एजेन्सी नै अर्को भाजुरत्न ट्रेडिङ प्रालि नामको अर्को कम्पनी खडा गरी हडपेको गुनासो रुपज्योतिहरुको छ । पद्मज्योति र छोराहरुले फिलिप्स लाइटको कारोबार आफ्नो नया“ कम्पनीमा भाजुरत्न ट्रेडिङमा सारेका छन् ।

सेयरधनी रुपज्योति र बहिनीलाई जानकारी नै नदिई उक्त कारोबार सारेका छन् । भाजुरत्न इन्जीनीयरीङका शाखाहरु रहेका स्थान भैरहवा, बुटवलका जग्गा समेत कम्पनीमा रकम नै जम्मा नगरी बिक्री गरेको आरोप पद्मज्योति र उनका छोराहरुमाथि लागेको छ । पद्ज्योतिले संचालक समितिको बैठक नै नबोलाई नगराई अध्यक्ष पदको दुरुपयोग गरी विभिन्न मालपोत कार्यालयमा अख्तियारी दिंदै ३ जनाको संयुक्त स्वामित्व भएको कम्पनीहरुको घरजग्गा आफ्नो एक्लौटी गर्ने नियतले नामसारी गर्दै लागिरहेकाले रोक्न र सम्बन्धित निकायबाट कारबाही गर्न रुपज्योति र उनकी बहिनीले माग गरेका छन् । अध्यक्ष पदको दुरुपयोग गरी अरु पनि धेरै कानून विपरीतका क्रियाकलाप गरेको उल्लेख गर्दै कारबाही गर्न माग गरेका छन् । प्रहरीदेखि कम्पनी रजिष्टारसम्म पनि आफ्नै दाजु र उनका छोराहरुले कानून विपरीत सम्पत्ति हडपेकोमा न्याय माग्न रुपज्योतिले गुहार मागिरहेका छन् । (साँधु साप्ताहिक र विजमाण्डु डटकमबाट साभार)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!