सीमा पारि सुनसान, वारि चलहपहल

- September 14, 2020 मा प्रकाशित

विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकका सूर्य श्रेष्ठ मेनरोडमा कपडा पसल गर्छन्। लकडाउन अवधिमा व्यापार बन्द भए पनि निषेधाज्ञा खुकुलो भएसँगै बिहान ६ देखि बेलुका ७ बजेसम्म पसलमा भ्याइनभ्याइ हुन्छ। ‘पहिलेभन्दा व्यापार दैनिक दोब्बर छ’, उनले भने।

मेनरोडमै किराना पसल राखेका विजय झालाई चैतअघि सटर भाडा तिर्न धौधौ पथ्र्यो। अहिले निश्चित समयमा बजार खुल्दा पनि भएको बिक्रीबाट उनी चकित छन्। ‘पहिले एक सातामा हुने व्यापार अहिले एक दिनमा हुन्छ’, उनले भने, ‘सीमापारि मान्छे नजाँदा र सीमा बन्द हुँदा यताको व्यापार राम्रो छ।’

सरकारले कोरोना महामारीमा भारतसँगको सीमा नाका बन्द गर्दाको सकारात्मक असर नेपाली बजारमा देखिन थालेको छ। प्रदेश १ को राजधानी सहर विराटनगरमा नाका खुला हुँदा कारोबार न्यून थियो। दैनिक उपभोग्य वस्तु नुन, तेल, दाल, मसलादेखि चाडपर्वमा चाहिने रङ र कपडासमेत खरिद गर्न नेपाली उपभोक्ता अधिकांश सीमावर्ती भारतीय बजार धाउँथे। विराटनगरमै पाइने भए पनि सीमापारि ३–४ रुपैयाँ कममा मरमसला र खाद्यान्न साथै केही सय सस्तोमा कपडा पाउँदा पारिका बजारमा नेपालीको भीड लाग्थ्यो। त्यस बेला वारिका व्यापारी पसल खोल्न र बन्द गर्नमै सीमित थिए।

‘पहिलेभन्दा अहिले व्यापार त बढेको छ’, मुनाल पथछेउ डेरीसहित बिस्कुट पसल खोलेका युवराज गौतमले भने, ‘तपाईं अहिले विराटनगर खुलेको समयमा हेर्नुहोस्, ग्राहक नपुगेको पसल कमै देख्नुहुन्छ।’

भारतीय बजारको भर पर्ने ग्राहक सबै नेपाली बजारैै जान थालेको व्यवसायी गौतमको भनाइ छ। ‘वर्षौंदेखि सीमापारि राम्रो सामान पाउँछ। सस्तो छ। उतै किन्नुपर्छ भन्ने कुराको चेनब्रेक कोरोनाले ग¥यो’, उनले भने, ‘विराटनगरका व्यवसायीले गुणस्तरीय सामान ग्राहकलाई बेचेर यो समयको सदुपयोग गर्नुपर्छ। अब सीमा खुलेपछि पनि ती ग्राहक पारी नजाऊन्। नेपाली पैसा नेपालमै लगानी होस्।’

वारि केही महँगो पर्ने भए पनि बिस्तारै नेपाली ग्राहकमा पनि नेपाली बजारमै किन्ने बानी पर्न थालेको विराटनगर–२ बरगाछीका पुष्प घिमिरेको भनाइ छ। ‘घरमा चाहिने चिनी, दाल, तेलदेखि लगाउने कपडासम्म किन्न साइकलमा सीमापारि जोगबनी बजार जान्थें’, उनले भने, ‘सीमा बन्द भएपछि यतै किन्छु। केही महँगो परे पनि अब बानी भयो।’

पहिले लगानी डुब्ने डर भए पनि अहिलेको व्यापारले केही आशा पलाएको व्यापारीको भनाइ छ। ‘विराटनगरमै ठूला मार्केट हाउसमा लगानी छ। तर, पहिले व्यापार थिएन, अहिले राम्रो छ’, व्यवसायी प्रकाश मुन्दडाले भने, ‘कोरोना महामारीले त्रास फैलाए पनि अहिलेको व्यापारले केही आस पलाएको छ।’

नेपाली उत्पादन नेपाली बजारमैै बिक्न थालेको र नेपालमै गुणस्तरीय सामान रहेछ भन्ने महसुस यो समयमा ग्राहकमा हुन थालेको मोरङ व्यापार संघका अध्यक्षसमेत रहेका मुन्दडाको भनाइ छ। ‘नेपालीमा पारि किन्ने बानी परेको थियो। उनीहरूले यताको प्रयोग गर्ने अवसर पाएका थिएनन्’, उनले भने, ‘अहिले यो महामारीको सकारात्मक प्रभाव व्यापारमा परेकै छ। पहिले दैनिक ५ करोडसम्म नेपाली पैसा भारतीय सीमा बजार पुग्थ्यो। अहिले त्यो रकम नेपाली बजारमै छ।’

प्रदेश १ मा झापासँग सीमा जोडिएको पानीटंकी र विराटनगरसँग जोडिएको जोगबनीमा दैनिक सैयौं नेपाली किनमेल गर्न पुग्ने गरेका थिए। मोरङ व्यापार संघको तथ्यांकअनुसार भारतीय सीमा बजारमा दैनिक ५ देखि ६ करोडको कारोबार हुँदा सो समय नेपाली बजारमा हम्मेहम्मे २ करोडसम्म पुग्थ्यो।

पहिले प्रदेश १ का विभिन्न जिल्लासहित २ नम्बर प्रदेशका नागरिकसमेत ती सीमा बजारमा गएर किन्ने गरेका थिए। विराटनगर दैनिक बेलुका ७ बजेसम्म खुल्छ भने झापाको बिर्तामोड नियमित खुल्दै आएको छ।

भारतीय बजार नगएको ६ महिना भयो

कैलालीको धनगढी उपमहानगरपालिका–४ का गणेश खत्री हरेक महिना भारतको गौरीफन्टा जान्थे। दैनिक उपभोग्य वस्तुदेखि लुगाकपडालगायत अरू धेरै सामान गौरीफन्टा (बनगवाँ) बाटै ल्याउँथे। तर, त्यता नगएको ६ महिना भयो।

‘धनगढीमा सामान अलि महँगो छ। चिनी भारतमा ५० रुपैयाँ छ, अहिले धनगढीमा ८० मा किनिरहेको छु। नाका बन्द भएकाले भारत कसरी जानु ?  ’, उनले भने, ‘६ महिनादेखि सबै सामान आफ्नै देशबाट किनिरहेको छु।’

कैलालीकै फूलबारीका हरिराम चौधरीले पनि भारतीय सहरबाट सामान नकिनेको ६ महिना भयो। ‘हाम्रो घरबाट त भारतको सुडा बजार पुग्न १५–२० मिनेट लाग्छ। घरका अधिकांश सामान भारतबाटै ल्याउने हो’, उनले भने, ‘तर, नाका बन्द भएपछि कसरी जानु ?  ’

कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका सिमानासँग जोडिएका धेरै भारतीय बजार अहिले सुनसान छन्। कैलालीमा मात्रै टीकापुरपारि तिकुनिया, हसुलियापारि चन्दन चौकी, फूलबारीपारि सुडा र धनगढीपारि गौरीफन्टा बजार बन्द छन्। शतप्रतिशत नेपाली ग्राहकमा निर्भर यी भारतीय बजार सुनसान रहेको गौरीफन्टाका कपडा व्यापारी सन्तनु गुप्ताले सुनाए।

‘गौरा र तीजका बेला ६ जना स्टाफले पनि कपडाको व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो। दैनिक ४–५ सय जना नेपाली ग्राहकको घुइँचो हुन्थ्यो। तर, नाका बन्द भएपछि सुनसान छ’, उनले भने। उनका बुवाको पसल धनगढीमा पनि रहेछ। ‘गौरीफन्टाको पसलको सामानमा मुसाले धेरै क्षति पु¥यायो’, उनले भने, ‘यताका सामान दिनदिनै धनगढीको पसलका लागि भन्सारमा पठाइरहेको छु।’

भारतीय बजारका व्यापारी भने पलायन हुन थालेका छन्। गौरीफन्टाका आधा दर्जनभन्दा बढी पसले ३५ किलोमिटर टाढाको पलिया बजारमा सरेका छन्। ‘गौरीफन्टामा व्यापार नभएपछि पलियामा सरेको छु’, भारतीय व्यापारी राजेश गुप्ताले भने, ‘गौरीफन्टाका सबै सामान पलियामा सटर खोजेर राखिसकें।’

गौरीफन्टाकै व्यवसायी अजय गुप्ताले पनि पलिया बजारमा पसल सारेको बताए। ‘६ महिना भयो नाका बन्द भएको। नाका खुल्ने कुनै सुरसार पनि छैन। सबै चौपट भयो’, उनले भने।

यस्तै, कञ्चनपुरको बेलौरीपारि सम्पूर्णानगर र खजुरिया, पुनर्बासपारि रहेको बसई, गड्डाचौकीपारि वनबासा, ब्रह्मदेवपारि टनकपुर बजार पनि सुनसान छन्। पहाडी जिल्ला बैतडीको जुलाघाटपारि झुलाघाटा र दार्चुला सदरमुकाम खलंगापारि धार्चुला बजार पनि सुनसान छन्।

होटल, पर्यटन, यातायातसहितका केही क्षेत्र भने कोभिडबाट नराम्ररी प्रभावित छन्। कपडा, हार्डवेयर, भाँडाबर्तन र दैनिक उपभोग्य सामानका पसलको व्यापार बढेको छ। ‘पसल निश्चित समयका लागि खुले पनि फोनबाट सामान होम डेलिभरी गरिरहेको छु’, धनगढीका व्यवसायी सुरेन्द्र रावलले भने।

धनगढीस्थित चौलाली डिपार्टमेन्टल स्टोर, ओम ट्रेड सेन्टरसहितका ठूला व्यापारिक प्रतिष्ठानमा पहिलाजस्तो व्यापार नभए पनि भारत जान रोक लागेपछि नयाँनयाँ नेपाली ग्राहक आउन थालेका छन। ‘बजार कति बेला बन्द हुन्छ भन्ने थाहा हुँदैन। मानिसहरू कोभिडका कारण धेरै त घरबाट निस्कन पनि मन पराउँदैनन्। तर, भारतका सीमा सहरहरूमा जान रोक लागेपछि नेपालीहरूले एकैपटक धेरै सामान लिएर जाने गरेका छन्’, चौलानीका सञ्चालक मानसिंह साउदले भने।

सीमावर्ती जिल्लाका बासिन्दा मोटरसाइकल, जिप, कारजस्ता सामान मर्मत गर्न पनि पारि जाने गर्थे। ‘तर ६ महिनादेखि पुर्पुरोमा हात लगाएर बसिरहेका छौं’, भारतको पलियाका अटोमेकानिक अहमत रियातले भने, ‘६ महिनादेखि थोरै भारतीयका गाडीमात्रै मर्मतका लागि आएका छन्।’ उनका अनुसार विगतमा नेपालीका जिप र कार मर्मत गर्न समय तोकेर बोलाइन्थ्यो। ‘दुई–तीन दिनको काम अग्रिममै हुने गथ्र्यो’, उनले भने, ‘तर अहिले कोभिडले व्यापार चौपट पारिदिएको छ।

 रोकियो कालोबजारी

यस्तै, प्रदेश ५ का सीमावर्ती नेपाली बजारमा पनि व्यापार बढेको छ। नेपालगन्ज, बुटवल, भैरहवा, कृष्णनगर क्षेत्रका बजारमा किनमेल बढेको हो। सीमावर्ती भारतीय बजार रुपैडियामा सामान किन्न जाने उपभोक्ता स्थानीय बजारमै निर्भर भएका छन्।

‘सियोदेखि ठूल्ठूला मेसिनरी सामानको आयात हुँदा दैनिक एक अर्बकै कारोबार भारतमा हुन्थ्यो’, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले लकडाउन व्यापारको अनुभव सुनाए, ‘भारतीय सामान ८० प्रतिशत कालोबजारी भएर आउँथ्यो। अहिले त्यो ठप्प छ। ठूला व्यापारीले कर तिरेर ल्याउने भएकाले राजस्व पनि बढेको छ।’ होलसेल कपडाका व्यवसायी वैश्यले आफ्नो कारोबारमा दुई सय प्रतिशतले वृद्धि भएको बताए।

सस्तो पाउने भन्दै नेपाली उपभोक्ता दैनिक उपभोग्यका खाद्यान्न किन्न रुपैडिहा जाने गरेका थिए। नेपालगन्ज किराना व्यवसायी संघका अध्यक्ष फडाधर भण्डारीले स्वदेशी खाद्यान्न उद्योग फस्टाइरहेको बताए। खाद्यान्नको थोक बिक्री ७० प्रतिशतले र खुद्रा बिक्री ४० प्रतिशतले बढेको उनको भनाइ छ। ‘डाबर, लिभरका सामान नेपालमै सस्तो पाइन्थ्यो। उपभोक्ताले भारतमा गएर किनेर ल्याउँथे। नेपाली चियापत्ती नै राम्रो भए पनि भारतीय किन्थे। वनस्पति घिउ नेपालबाटै जान्थ्यो। उता गएर ल्याउँथे’, भण्डारीले भने, ‘अहिले स्वदेशी उद्योग पनि फस्टाएका छन्। उपभोक्ता पनि नेपाली उत्पादनमा बानी परिरहेका छन्।’

उनका अनुसार विगतमा खाद्यान्न मात्र दैनिक पाँच करोड रुपैयाँ जतिको आयात हुन्थ्यो। लकडाउनका बेला भाटभटेनीले खाद्यान्नमा बजार नियन्त्रण गरेर मद्दत गरेको जिकिर उनले गरे। भाटभटेनीका क्षेत्रीय प्रबन्धक विनोद भट्टराईले लकडाउनका बेला भाटभटेनीले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गरेको दाबी गरे। ‘भूकम्प र नाकाबन्दीका बेला भएको चर्को कालोबजारीका बेला पनि भाटभटेनीले सेवा गरेको थियो’, उनले भने, ‘त्यही अनुभवले लकडाउनका बेला पनि बजारलाई मनपरी गर्नबाट रोकेका छौं।’

मोबाइललगायत इलेक्ट्रोनिक सामान पनि भारतबाट धेरै आउने गरेकोमा नेपालगन्जकै बजारमा बिक्री बढेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए। ‘एउटा मोबाइल किन्न पनि रुपैडिया जाने चलन थियो। भन्सार नतिरेरै आउँथ्यो’, नेपालगन्ज इलेक्ट्रोनिक एसोसिएसन बाँकेका अध्यक्षसमेत रहेका ओलीले भने, ‘अहिले नेपालगन्जमै मोबाइलको बिक्री बढेको छ।’

उनले यस्ता सामानको बिक्री २५ प्रतिशत वृद्धि भएको बताए। ‘लकडाउन उपभोक्तालाई स्वदेशी उत्पादन नेपालगन्जमै सस्तो र गुणस्तरीय भएको थाहा पाउने अवसर भएकाले पनि सीमा नाका खुलेपछि स्वदेशी उत्पादनको खपत कायम रहनेछ’, उनले भने।

सुनौली सुनसान, यता राहत

चाडबाडका बेला नेपाली उपभोक्ताले ठेलमठेल हुने भारतीय सीमावर्ती सहर सुनौली सुनसान छ। करिब चार सय पसल रहेको सुनौलीमा यही सिजनमा नेपाली ग्राहक खचाखच हुन्थे। सस्तोमा पाउने मानसिकताले दैनिक उपभोग्य वस्तु, कपडालगायत सामग्रीका लागि तराईदेखि पहाडी जिल्लासम्मका नेपाली सुनौली बजार पुग्ने गरेका थिए। दैनिक लाखौं र चाडपर्वका बेला दैनिक एक करोडभन्दा बढी कारोबार हुन्थ्यो।

‘सीमा नाका बन्द भएपछि व्यापारमा वृद्धि भएको छ। पारि जाने स्थानीय उपभोक्तालाई यहीँ गुणस्तरीय र सस्तो मूल्यमा सामग्री दिइरहेका छौं’, भैरहवा गल्लामण्डीस्थित गौतम किराना पसलका सञ्चालक आशिष गौतमले भने। उनका अनुसार सीमापारि खाद्यान्न किन्न जाने स्थानीय उपभोक्ताको मनस्थितिमा भारतीय ब्रान्डको छाप बसेको थियो। तर, अहिले ग्राहकको मानसकिता परिवर्तन हुँदै गएको छ।

बैंक रोडका व्यापारी हरिश सेठियाले मोबाइल र खाद्यान्न व्यापार राम्रो भएको बताए। यद्यपि, भैरहवाको बैंक रोडमा आउने भारतीय ग्राहक भने घटेका छन्।

सुनौली बजार बन्द रहे पनि स्थानीय बजारमा अपेक्षित व्यापार नभएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेको भनाइ छ। ‘सुनौलीमा तराईभन्दा पनि पहाडी जिल्लाका ग्राहक बढी हुन्। सीमा बन्द हुँदा साना पसलमा केही व्यापार भयो तर समग्रमा लकडाउनले व्यापार व्यवसायमा नराम्रो प्रभाव परेको छ’, उनले भने। अन्नपूर्णबाट

प्रतिक्रिया