नविल बैंकमा चौधरी ग्रुपले गरेको छद्मभेषी लगानीकर्ताको खोजी

- September 18, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । आफुलाई विश्वको धनी अर्थात डलर अर्बपतिको प्रचार गर्दै आएका तर नेपालमा बुझाउनु पर्ने कर, राजश्व, आयकरसमेत छली गर्दै आएका चौधरी ग्रुपको लगानी रहेको नविल बैंक अहिले छानविनको घेरामा परेको छ । सो बैंकमा नेपाली काँग्रेसको समेत समानुपातिकको तर्फबाट साँसद समेत रहेका बिनोद चौधरीको नबिल बैंकसँगै एनएमबी बैंकमा रहेको मलेसियाली कम्पनीको छद्मभेषी लगानी खुलाउन पटकपटक नेपाल राष्ट्र बैंकले पत्र काटेर पठाएपनि सो पत्रको समेत बेवास्ता गरी नियमित रूपमा बुझाउनै पर्ने विवरण समेत नबुझाएको आरोप अहिले लागेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गरेका पर्दापछाडिका लगानीकर्ता खोज्न नयाँ नीतिगत व्यवस्था अघि सार्नु परेको छ । कतिपय बैंक तथा वित्तीय संस्थामा प्रष्ट नदेखिने गरी घुमाउरो बाटोबाट लगानी गरेर व्यवसाय गर्दै आएका चौधरीले बैंकमा समेत अबैध लगानी घुसाएर कारोबार समेत गर्दै आएको छ ।

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्ता, संस्थाको अन्तिम हिताधिकारी व्यक्तिको विवरण सम्बन्धित देशका आधिकारिक निकायबाट प्रमाणित गराएर आर्थिक वर्ष समाप्त भएको ९० दिनभित्र राष्ट्र बैंकमा बुझाउनु पर्ने निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाको सेयर धारण गर्ने फर्म÷कम्पनी÷संस्थाको अन्तिम हिताधिकारी प्राकृतिक व्यक्ति पहिचान हुने विवरण सम्बन्धित मुलुकको आधिकारिक निकायबाट प्रमाणित गराई प्रत्येक आर्थिक वर्ष समाप्त भएको ९० दिन भित्र राष्ट्र बैंकमा अभिलेखीकरण गर्नुपर्ने उल्लेख गरेको छ तर सो निर्देशनलाई समेत नविल बैंकले लत्याउदै आएको छ ।

घुमाउरो बाटोबाट नेपालका बैंक तथा वित्तीय संस्थामा गरिएको लगानीमाथि कडाई गर्न राष्ट्र बैंंकले यस्तो प्रावधान अघि सारेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गरेका विदेशी गैर बैंकिङ संस्थाबाट मात्र यस्तो अन्तिम हिताधिकारीको विवरण मागेको हो । राष्ट्र बैंकको यो निर्देशन मूलतः नबिल बैंक र एनएमबी बैंकमा लगानी गरेका दुई विदेशी संस्थाका अन्तिम हिताधिकारी को हुन् भनेर खोजी गर्न लक्ष्यित देखिन्छ । नबिल बैंकमा बांग्लादेशमा रहेको भनिएको एनबी इन्टरनेशनलको ५० प्रतिशत शेयर छ । यो आयरल्याण्डको एनबी इन्टरनेशनल अन्तर्गत छ ।

आयरल्याण्डको एनबी इन्टरनेशनल पनि ट्याक्स हेभन भनेर चिनिएको देश, पानामामा रहेको साउथ एशिया फाइनान्सियल कर्पोरेसन अन्तर्गत सञ्चालित छ। सिजी इन्नोभेसन, सिंगापुरमा पुगेर जोडिन्छ । अर्बपति व्यवसायी तथा सांसद चौधरीले नेपालको कानूनले रोकेपछि बांग्लादेशी कम्पनीमार्फत् नबिल बैंकमा घुमाउरो ढंगमा लगानी गरेको आफ्नो आत्मकथामा उल्लेख गरेका छन् ।

एउटा देशमा रहेको कम्पनीलाई अर्को देशमा रहेको कम्पनीले आफ्नो अधिनस्थ सञ्चालन गरेको यस्तो जञ्जाल जे जस्तो भए पनि त्यसको अन्तिम हिताधिकारी अर्थात प्राकृतिक व्यक्ति को हुन ? राष्ट्र बैंकले यही कुरा सम्बन्धित देशको आधिकारिक निकायबाट प्रमाणित गरी बुझाउन निर्देशन दिएको हो ।

एनएमबी बैंकमा पनि यंग लियन रियल्टी एसडीएन विएचडी, मलेसिया नामको कम्पनीको ५ दशमलव २३ प्रतिशत शेयर लगानी रहेको छ । यो गैर वित्तीय संस्था भएकाले यसका वास्तविक लगानीकर्ता को हुन् भनेर अब केन्द्रीय बैंकमा विवरण बुझाउनुपर्नेछ । यो प्रावधानअनुसार, बैंक तथा वित्तीय संस्थामा अन्य देशका संस्था वा देशभित्रकैसंस्थाले लगानी गरेको भएमा त्यसका वास्तविक लगानीकर्ताको पनि परिचय खुलाएर राष्ट्र बैंकमा बुझाउनुपर्ने हुन्छ ।

यसअघि पनि केन्द्रीय बैंकले पटक–पटक नबिल बैंक र एनएमबी बैंकमा शेयर लगानी गरेका विदेशी संस्थाका वास्तविक लगानीकर्ता को हुन् भनेर खुलाउन पत्र काटेको थियो । गत साउनमा पनि राष्ट्र बैंकले नबिल बैंकमा लगानी रहेको एनबी इन्टरनेशलका वास्तविक लगानीकर्ता अर्थात अन्तिम हिताधिकारीको विवरण माग्दै पत्र पठाएको थियो।

नविल बैंकका विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका संस्थाका वास्तविक लगानीकर्ता वा अन्तिम हिताधिकारीको विवरण खुल्ने गरी नआएको वा झुक्याइएको हुन सक्ने आशंकापछि निर्देशन नै जारी गरिएको र यसलाई कानुनी प्रावधानका रुपमा लागू गरिएको छ । नबिल बैंकको ९१ हजार डलर लाभांश फर्किएको छ ।

राष्ट्र बैंकले गएको साउन महीनामा नबिल बैंकलाई पत्र पठाएर सो बैंकमा शेयर लगानी गरेको एनबी इन्टरनेशनलको अन्तिम हिताधिकारीको विवरण मागेको थियो । उनीहरु नेपाली नागरिक भएमा विगतका वर्षहरुमा बुझेको लाभांश कति स्वदेश फिर्ता भयो भन्ने विवरणसमेत मागेको थियो।

राष्ट्र बैंकको पत्रपछि एनबी इन्टरनेशनलका अन्तिम हिताधिकारी मध्येका एक अर्बपति व्यवसायी विनोद चौधरीले करिब ९१ हजार अमेरिकी डलर (करिब रु. १ करोड ९ लाख) फिर्ता ल्याएको केन्द्रीय र्बैकका एक अधिकारीले बताएका छन् । नेपालको कानून अनुसार नेपाली नागरिकले विदेशमा लगानी गर्न बन्देज छ । चौधरीले सिजी इन्नोभेसनमार्फत् केही निःशुल्क शेयर प्राप्त गरेको दाबीसहित सोको लाभांश डलरका रुपमा विदेशमैं बुझ्दै आएका थिए । तर, राष्ट्र बैंकले नेपाली नागरिकले सो लाभाशं स्वदेश नै फिर्ता ल्याउनुपर्ने भनेपछि चौधरीले यो रकम फिर्ता ल्याएको केन्द्रीय बैंक स्रोत बताउँछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!