कुलमान घिसिङले भने, ‘कोभिड महामारी छ, प्राधिकरणमा निरन्तरताको माग राख्दै प्रदर्शन नगरिदिनू

- September 19, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुन : नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। ’ उनले भनेका छन्,‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु। ’

घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवम् स्वाभाविक प्रकृया भएकोले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने धारणा राखेका छन्।  प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने उनले स्पष्ट पारेका छन्।

पछिल्लो समय प्लेकार्डसहित काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागका सडकमा स्वतस्फूर्त नागरिकहरु घिसिङको पक्षमा नाराबाजी गरिरहेका छन्। सडकमा प्रदर्शनको क्रममा प्रहरीले दमन गर्दै आएको छ।

०७२ भदौ २९ गते घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त हुँदा मुलुक दैनिक १८ घण्टासम्मको लोडसेडिङमा थियो। पदबहाली गरेको करिब दुई वर्षमा लोडसेडिङ हटाउन उनी सफल भए। उनी  उज्यालो नेपालको संवाहकका रुपमा उनी जनस्तरमा लोकप्रिय भएका छन्। लोडसेडिङ हटाएको जस आफूले मात्रै लिएको भन्दै राजनीतिक नेतृत्व उनीसँग खासै प्रशन्‍न छैन।

त्यसैगरी घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब रुपैयाँसम्म नाफामा लैजाने, विद्युत् चुहावटलाई १५ प्रतिशतसम्म झार्नेलगायत साहसिक कदम उनले सम्पन्‍न गरेका थिए। अझै प्राधिकरणका चुनौती धेरै भएकाले पनि कुलमान दोहोरिनुपर्ने सरोकारवालाहरूको माग छ। चाँडै नै निजी क्षेत्रबाट करिब नौ सय मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै छ। यसका लागि विद्युत् निर्यात गर्ने वातावरण बनाउने, आन्तरिक खपत बढाउने, प्राधिकरण ऐन पुनर्संरचनाका विषयजस्ता कुरा सम्हाल्न संस्थान बुझेको व्यक्ति घिसिङ भएकाले उनको निरन्तरता आवश्यक भएको बताइएको छ।

गत २९ भदौमा कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाई गरेको थियो। अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!