राजनीति र समाजसेवाको आडमा गोली पड्काउँदै असुली धन्दा

- September 19, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मोबाइलबाट धम्की आएसँगै डराएका उनले त्यतिबेलै फोन गर्ने समूहलाई गुद्री बजारमा बोलाएर एक लाख रुपैयाँ सुम्पिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। तर उनले प्रहरीमा भने खवर गरेनन्। पुनः उनलाई गत असार २४ गते पैसा माग्दै त्यही नम्बरबाट फोन आयो। उनले त्यसको पर्सीपल्ट असार २६ गते कञ्चनबारीको नहरमा बोलाएर त्यही गिरोहलाई थप चार लाख रुपैयाँ दिएको पनि खुल्यो।

त्यस्तै इलेक्ट्रोनिक सामग्री र कम्प्युटरको व्यापार गर्ने विराटनगरका अर्का व्यापारी रतन पारकलाई त्यही नम्बरबाट साउन १३ गते ज्यान मार्ने धम्कीसहित १० लाखको ‘डिमान्ड’ राखेर फोन गयो। घटनालाई लिएर उनी साउन १६ गते कांग्रेसका एक नेताकहाँ पुगे। त्यसपछि तिनै नेताको सहयोगमा पारक प्रहरीमा पुगे।

घटनाको अनुसन्धान थालेको प्रहरी अन्ततः उक्त गिरोहसम्म पुग्यो। त्यस्तै यही भदौ १५ गते चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट ११ लाख रुपैयाँ चोरी भएको थियो। त्यसमा पनि त्यही गिरोहको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न गिरोहका पाँच जनालाई हतियार (अटोमेटिक पेस्तोल र छ राउण्ड गोली) सहित भदौ १६ गते पक्राउ ग¥यो। पक्राउ पर्नेमा भारत बिहार सितामडी घर भएका २७ वर्षीय राजु साह, मोरङको कटहरी गाउँपालिका–२ आदर्श नगरका २७ वर्षीय अभिषेक राय २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भनिने रविन शर्मा र सप्तरीको बोदेवसाइन नगरपालिका–८ का २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साह छन्।

गिरोहका मुख्य नाइके अभिषेकलाई भारतबाट हतियार ल्याएर उपलब्ध गराएको खुलेपछि विराटनगर महानगरपालिका–१२ का २६ वर्षीय विकास महतोलाई पनि प्रहरीले भदौ १७ गते पक्राउ गर्यो‍।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारतीय नागरिक मनिष भन्ने व्यक्तिको सहयोगमा विकासले अभिषेकलाई एक लाख रुपैयाँमा हतियार उपलब्ध गराएको खुलेको छ। कोशी प्रोजेक्ट छेउको चिया पसलसम्म ल्याएर विकासले आफूलाई हतियार दिएको अभिषेकले प्रहरीलाई बताएका छन्।

भारतबाट हतियार ल्याएर अपराधिक गिरोह सञ्चालन गर्न सहयोग गर्ने विकास र त्यही हतियारको बलमा गिरोह खडा गरी धम्की र असुली धन्दा चलाइरहेका अभिषेक राजनीतिक दल आवद्ध युवा हुन्।
अभिषेक अनेरास्ववियुको विराटनगर महानगर कमिटीका उपाध्यक्ष हुन्। विकास अनेरास्ववियुका जिल्ला कमिटी सचिवालय सदस्य, पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कमिटी सदस्य र विराटनगरको पुसेट क्याम्पस कमिटीका अध्यक्ष हुन्।

समाजसेवा गरेको देखाउन विराटनगरमा केही समयदेखि जारी असहायलाई निःशुल्क खाना खुवाउने अभियानमासमेत उनीहरु जोडिएका थिए। अपराधिक गतिविधीबाट आर्जन गरेको रकम समाजसेवाका नाममासमेत खर्च गरेको हुन सक्ने प्रहरी दाबी छ।

अनेरास्ववियुमा आवद्ध उनीहरुले राजनीति र समाजसेवामा लागेको देखाएर सबैको विश्वास जित्दै लामो समयदेखि अपराधिक गतिविधि गरिरहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ‘अपराधिक धन्दा चलाउन राजनीति र समाजसेवाको आड लिएको देखिन्छ,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘कसैले पनि शंका नगर्ने भएकाले अपराध गर्न उनीहरुले यो उपाय लगाएको पाइयो।’

उनका अनुसार अपराध नखुलोस् भनेर दुवै जनाले सत्तारुढ नेकपाका नेता र प्रहरीका अधिकारीसँग पनि सम्बन्ध बढाएको देखिन्छ। ‘विराटनगर लगायत मोरङमा विभिन्न ठूला नेता सहभागी कार्यक्रममा उनीहरु पुगेको पाइन्छ। कोरोना महामारीमा भोकै परिरहेकालाई खाना पनि खुवाउँथे,’ उनले भने, ‘राजनीति र समाजसेवाको आवरणमा तत्कालै प्रहरी अधिकारीको पनि मन जित्न सफल हुँदारहेछन्। जसले उनीहरुलाई अपराध गर्न सजिलो बनाएको देखिन्छ।’

नेता र प्रहरी अधिकारीको नजिक हुँदै समाजसेवाको खोल ओढेर समूहनै बनाउँदै व्यापारीलाई धम्क्याउने र असुली गर्ने धन्दा चलाइरहेको पाइएको प्रहरीका ती अधिकृतले बताए।

अभिषेक र विकासको ‘कनेक्सन’
अभिषेक र विकास दुवै कक्षा ११र १२ पढ्का साथी हुन्। राजनीति गर्ने क्रममा एउटै संगठनले उनीहरुलाई झन् नजिक बनायो।

विकासको नेतृत्वमा मोरङ र सुनसरीमा नेपाल टेलिकमको लाइट टावर जडान गर्ने ठेक्का लिएर उनीहरुले संयुक्त रुपमा काम पनि गरे। मोरङको सुनवर्षीको हसनगडी, रंगेलीको टकुवा, कानेपोखरीको बिहीबारे, कटहरीको खोरिया, पथरीशनिश्चरे र सुनसरीको अमडुवा लगायतमा टावर जडानको जिम्मा लिए। खोरिया र पथरीशनिश्चरेमा काम गर्दा लेनदेन नमिलेपछि दुई जनाबीचमा फाटो आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

लेनदेन नमिल्दा मनमुटाव भएपछि २०७६ साल पुसदेखि विकासले अभिषेकलाई कामबाट निकालिदिएको प्रहरीले जनाएको छ। प्रहरीका एक अधिकृतका अनुसार राम्रो भएर सँगै काम गर्दा विकासले अभिषेकलाई हतियार उपलब्ध गराएको देखिन्छ। ‘विकासले अभिषेकसँग हतियार बेच्ने मान्छे चिनेकाले उपलब्ध गराइदिन्छु भनेको खुलेको छ,’ उनले भने, ‘तर विकासले पुरोनो रिसईबीका कारण आफूलाई फसाउन खोजेको दाबी गरिरहेका छन्।’

प्रहरीका अनुसार विकासले आफूलाई टावर जडान गर्दाको दुई लाख रुपैयाँ दिन बाँकी रहेको र अभिषेकले भने दिइसकेको बताएपछि दुई जनाको कुरा बाझिएको छ। यो विवाद नेकपा एवं अनेरास्ववियुका नेता ओसिम आलमसम्म पनि पुग्यो। ‘लेनदेनको विवाद अरु नेतासम्म पनि पुगेछ,’ आलमले भने, ‘विवाद आएपछि मिलाउने प्रयास गरियो।’

गोली पड्काउँदै असुली 
पेस्तोल देखाएर व्यापारीका घर आसपास र कम्पाउण्डमा गोली पड्काउँदै असुली गर्ने गरेको खुलेको छ। प्रहरीका अनुसार पैसा मागेपछि मनोवैज्ञानिक हिसाबले त्रास देखाउन अभिषेकले नेतृत्व गरेको गिरोहले साउन १६ गते राति पारकको घरको पर्खालमा गोली पड्काएको खुलेको छ।

घटनास्थलबाट गोलीको खोका फेला परेको थियो। तर त्यसभन्दा नौ महिनाअघि त्यही गिरोहले व्यापारी मालपानीको घरको पर्खाललाई पनि लक्षित गरेर गोली पड्काएको अनुसन्धानबाट खुलेको छ। व्यापारीको घरको पर्खालमा गोलीले लागेको दाग भेटिसकिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

अभिषेकले खरिद गरेको पेस्तोल र छ राउण्ड गोलीमध्ये तीन राउण्ड पड्काइसकेको पाइएको उनको भनाइ छ। तीन राउण्ड गोली र पेस्तोल प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

पहिला दुई मुद्दा  

२०६७ साल चैत १८ गते सार्वजनिक अपराध र २०७१ मंसिर ८ गते ज्यान मार्ने उद्योग गरेर दुईवटा मुद्दामा अभिषेकविरुद्ध प्रहरीले कारबाही अघि बढाएको थियो। उनलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले २०७१ पुस ४ गते पूर्पक्षका लागि थुनामा पठायो। अदालतको फैसलाबाट दोषी ठहर भएसँगै जेल बसेर छुटेका उनले त्यसपछि पनि निरन्तर अपराधिक गतिविधि गरिरहेको खुलेको प्रहरीले जनाएको छ।

अपराध प्रमाणित नभएसम्मका लागि भनेर दुवै जनालाई संगठनबाट निलम्बन गरिसकिएको अनेरास्ववियु मोरङ संयोजक सन्तोष घिमिरेले बताए। पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना, अपराधिक लाभ र चोरी तथा संगठित अपराधमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको एसपी खड्काले बताए। उनले अरुसँगको ‘कनेक्सन’ खोतल्ने काम भइरहेको बताउँदै घटनामा संलग्न रहेको पुष्टि हुनेलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने जानकारी दिए।

अभिषेकलाई हतियार उपलब्ध गराएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएका विकास महतो। अन्नपूर्णबाट

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!