मुद्रा ओसार–पसारमा मुछिए बैंक

- September 21, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपालका ९ बैंक र १० कम्पनीको संलग्नता

खोज पत्रकारिता केन्द्र-

नेपालका ९ बैंक, १० कम्पनी र विभिन्न व्यक्तिले सीमापार व्यापारका नाममा ११ वर्ष अवधिमा ३४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ शंकास्पद धन ओसारपसार गरेको पाइएको छ। सुन, अलकत्र, पुरातात्त्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएका छन्।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) ले अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा यो खुलासा गरेको हो। बैंकहरूले ग्राहकको शंकास्पद आर्थिक गतिविधिबारे निगरानी गरी फिनसेनलाई जानकारी दिएका थिए। ती जानकारी प्राप्त गरी बजफिड न्युज र आईसीआईजेले आफ्ना नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको छ। नेपालमा खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेले यसको खोजी गरेका हुन्। फिनसेन फाइल्समा सन् २००६ डिसेम्बरदेखि २०१७ मार्चसम्मका आर्थिक कारोबार नियालिएको छ।

नेपालका ९ बैंक, १० कम्पनी र विभिन्न व्यक्तिले सीमापार व्यापारका नाममा ११ वर्षमा २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२ रुपैयाँ) शंकास्पद धन ओसारपसार गरेको पाइएको छ।

फिनसेन फाइल्सको सूचीमा स्ट्यान्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमान्डू, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, मेगा, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बंगलादेश बैंकको नाम उल्लेख छ। यस्तो कारोबार र ओसारपसारमा प्रत्यक्ष संलग्न १० कम्पनीमा रौनियार ब्रदर्स एन्ड कम्पनी, शुभ समृद्धि ट्रेडर्स, सास्ता ट्रेडिङ, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट, एलडी इन्टरनेसनल, फेल्ट एन्ड यार्न, ओमन्स पेपर क्राफ्ट, नेपाल इन्भेस्टमेन्ट, एक्मी मनी ट्रान्सफर र सन्नी इन्टरप्राइजेज कम्पनी छन्।

यसबाहेक एक दर्जन जति नेपाली कम्पनी अप्रत्यक्ष रूपमा संलग्न देखिएका छन्।  यसमा तीन किसिमका कारोबार छन्। पहिलो, नेपालबाट बाहिरिएको र यता भित्रिएको रकम २१ अर्ब १४ करोड १६ लाख रुपैयाँ छ। दोस्रो, नेपालसहित विभिन्न मुलुकमा भएको एकमुष्ठ शंकास्पद कारोबार ५ अर्ब ७४ करोड २२ लाख रुपैयाँ देखिन्छ। तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै गरेको शंकास्पद धन कारोबार र ओसारपसार ७ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ देखिन्छ।

इराकबाट भित्रियो शंकास्पद धन
इराकको कुर्दिस्तान ठेगाना भएका हुसामहतिफ नुरले १६ फेब्रुअरी २०१६ मा काठमाडौं महानगरपालिका–६ बौद्धका कोइसी शेर्पालाई १ लाख ४५ हजार रुपैयाँ पठाएका थिए। शेर्पाले नेपालमा रकम भने १ लाख ३९ हजार मात्रै प्राप्त गरेको देखिन्छ। उक्त रकम इराककै बगदादस्थित अलनिबलअल अरबिया मनी ट्रान्सफरले बौद्धकै एक्मी मनी टान्सफर सर्भिसमार्पmत भुक्तानी गरिदिएको थियो।

कइस नजतजलालले ५ मार्च २०१६ मा बगदादको अलनिबलअल अरबिया मनी ट्रान्सफरमार्फत अस्मान घिसिङलाई ९७ हजार रुपैयाँ पठाएका थिए। काठमाडौं महानगरपालिका महांकाल सरस्वतीनगरस्थित कपनको सन्नी इन्टरप्राइजेजमार्फत ९३ हजार रुपैयाँ भुक्तानी भएको थियो।  विक्रम गुरुङले १ फेब्रुअरी २०१६ मा बगदादस्थित अलनिबलअल अरबिया मनी ट्रान्सफरबाट ३२ हजार रुपैयाँ नेपाल पठाएका थिए। पोखरा–१ कास्की हरिचौरको एपेक्स डेभलपमेन्ट बैंकको शाखामार्फत शान्ता गुरुङले ३० हजार रुपैयाँ प्राप्त गरेको फिनसेनले जनाएको छ। विक्रमले १० जनवरी २०१६ मा सोही मनी ट्रान्सफरमार्फत मुस्तफा हुसामद्दिन एफखुदुरलाई १ लाख ७८ हजार रुपैयाँ पठाए। खुदुरले इजिप्टको एलेक्जेन्ड्रियास्थित आईबीएजी मनी ट्रान्सफरको मोन्टाजा शाखाबाट उक्त रकम पाए।  उल्लिखित कारोबारहरूमा कपनको सन्नी इन्टरप्राइजेजसमेतको संलग्नताले रेमिटेन्सको रूपमा पठाएको पैसा मात्र नहुन सक्ने देखिन्छ। उल्लिखित कारोबारमा संलग्न नेपाली एक्मी मनी ट्रान्सफरका सञ्चालक राजेश लामाले सबै विवरण सोधेर मात्रै रकम भुक्तानी दिने गरेको तर शंकास्पदबारे जानकारी नभएको बताए।

कानुन उल्लंघन
नेपालमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अनुसार बैंक तथा वित्तीय संस्थाहरूले शंकास्पद कारोबारको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) लाई दिनुपर्छ। यसको अर्थ बैंक तथा वित्तीय संस्था यस्ता मामिलाका सूचक संस्था हुन्। जसले आफ्नो बैंक मार्फत गर्ने व्यावसायिक कारोबार, खाता सञ्चालन, तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार, विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) लगायतको काम गर्दा ती ग्राहकको निगरानी गर्नुपर्ने हुन्छ।

कानुनअनुसार, ग्राहकले बेनामी वा काल्पनिक नाममा कारोबार गर्न पाउँदैनन्। कसैले बेनामी वा काल्पनिक नाममा कारोबार गर्न खोजे वास्तविक धनीसमेत पहिचान गर्नुपर्ने कानुनी व्यवस्था छ। यसबाहेक राजनीतिक, प्रशासनिक तथा न्यायिक क्षेत्रका उच्च पदस्थ व्यक्तिहरू र उनीहरूले गर्ने कारोबारको छुट्टै जानकारी राख्नुपर्छ। पहिचान गर्नका लागि सम्बन्धित व्यक्तिसँगै विवरण माग्ने, नभए तेस्रो पक्षसँग समेत जाँचबुुझ गर्नुपर्ने व्यवस्था छ। यसरी प्राप्त सूचना पाँच वर्षसम्म सूचक संस्थाले राख्नुपर्नेछ। गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकलाई रिपोर्टिङ गर्न र ग्राहकको निगरानी गर्न चुकेका बैंकहरूलाई कारबाही गरिएको बताए। भने, ‘कानुनी र संरचनात्मक व्यवस्था हुँदाहुँदै पनि सम्पत्ति शुद्धीकरणका घटना हुँदैनन् भन्ने होइन र कार्यान्वयनमा सशक्त छौँ भन्ने अवस्थामा हामी छैनौं।’

के हो ‘फिनसेन फाइल्स’ ?
अमेरिकालगायतका देशमा हुने व्यापार व्यवसायका क्रममा कुनै व्यक्ति वा संस्थाले शंकास्पद वा अवैध आर्जन, कारोबार गरेर सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक क्रियाकलाप गर्न खोजेमा बैंक तथा वित्तीय संस्थाले उक्त गतिविधि निगरानी गर्नुपर्छ। त्यस्तो देखिए ६० दिनभित्र फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) लाई जानकारी दिनुपर्छ। यो अमेरिकी सरकारको डिपार्टमेन्ट अफ दी ट्रेजरीअन्तर्गतको निकाय हो। यो अमेरिकी संघीय सरकारको राष्ट्रिय कोषको कार्यालय हो।

विभिन्न कागजातहरूबाट कुनै ग्राहकको बारेमा प्रश्न उठ्ने अवस्था आएपछि अमेरिकी बैंकहरूले त्यसबारे फिनसेनलाई जानकारी गराउने गर्छन्। यस्तो निगरानीका क्रममा प्रत्येक वर्ष फिनसेनमा शंकास्पद धनको कारोबार र ओसारपसार सम्बन्धी १० लाखभन्दा बढी प्रतिवेदनहरू तयार हुन्छन्। फिनसेनका २ हजार १२१ शंकास्पद प्रतिवेदन अमेरिकी सञ्चारगृह ‘बजफिड न्युज’ ले प्राप्त ग¥यो। उसले फिनसेनबाट उक्त प्रतिवेदनहरूसहित २ हजार ६ सय ५७ फाइलहरू आईसीआईजेलाई उपलब्ध गरायो।

त्यसका आधारमा आईसीआईजे, बजफिड न्युज र अन्य सञ्चार संस्थाहरूबीच भएको सहकार्यमा १६ महिना लामो अनुसन्धानपछि यो खुलासा गरेको हो। यो खुलासामा आईसीआईजे, बजफिडसहित ८८ देशका १ सय १० सञ्चारमाध्यम आबद्ध ४ सयभन्दा बढी पत्रकार सहभागी भएर थप खोज गरेका हुन्। फिनसेन फाइल्स सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएको कारोबारको खुलासा हो।


मुद्रा ओसार–पसारमा मुछिए बैंक

सुन, अलकत्र, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण आदिको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ।

मेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले नयाँ तथ्य खुलासा गरेको छ। त्यसमा नेपालका ९ बैंक, १० कम्पनी र विभिन्न व्यक्तिले सीमापार व्यापारका नाममा ११ वर्षमा २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२ रुपैयाँ) शंकास्पद धन ओसारपसार गरेको पाइएको छ। त्यसमा कुन बैंक कसरी जोडिएका छन्, विस्तृत विवरण–

‘स्ट्याण्डर्ड चार्टर्ड’ मार्फत अत्यधिक प्रवाह
‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, सबैभन्दा बढी रकम ल्याउने र लैजाने शंकास्पद कारोबार र ओसारपसारमा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ। त्यस्तो कारोबार गर्दा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकले विदेशस्थित स्ट्याण्डर्डकै शाखाहरू प्रयोग गरेको छ। कतिपय कारोबारमा अन्य बैंकहरूमार्फत पनि यस्तो काम भएको देखिन्छ।

ग्राहक– १, रौनियार
यो बैंकमार्फत सबैभन्दा धेरै शंकास्पद कारोबार गर्नेमा वीरगञ्ज उपमहानगरपालिका–१२ मिनाबजार पर्सा, मेनरोडका दुई कम्पनीहरू छन्। एक, रौनियार ब्रदर्स एण्ड कम्पनी। दोस्रो, शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेड। कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर स्रोतले उपलब्ध गराएको विवरण अनुसार, पहिलो कम्पनी वीरगञ्जका नारायण जी रौनियार र उनका चार छोराहरू– श्याम बाबु, ज्योति बाबु, प्रकाशकुमार र दीपकुमार बाबुको नाममा दर्ता छ।

दोस्रो, कम्पनी भने नारायणजीका छोरा ज्योति बाबुको नाममा मात्रै दर्ता छ। शंकास्पद गतिविधि गर्ने प्रमुख व्यक्ति भने प्रकाशकुमार रौनियार हुन्। जो धेरैजसो दुबईमा बसोबास गर्छन्। उनको प्रमुख योजनामा दुबईकै ‘काइट इन्टरनेशनल’, ‘एफजेई’ र अन्य विभिन्न सिपिङ कम्पनीहरू (जहाजमार्फत सामान ओसारपसार गर्ने कम्पनी) मार्फत शंकास्पद कारोबार गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ। दुबईको ‘काइट इन्टरनेशनल’ कम्पनीले अलकत्र, सवारी साधनमा प्रयोग हुने मोविल, लुब्रिकेन्ट लगायत तेल, रबर प्रोसेसिङ ओइल जस्ता पेट्रोलियम पदार्थको आयात र निर्यात गर्छ। दुबईका यी शंकास्पद कम्पनीहरू मार्फत रौनियार परिवारले नेपालमा अलकत्र र पेट्रोलियम पदार्थको आयात निर्यातका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो।

नेपालको सास्ताले सुन कारोबार गरेको कालोटी ग्रुपले मात्रै सन् २००७ देखि २०१५ सम्ममा ४ हजार ५५७ पटक कारोबार हुँदा ९ अर्ब ३२ करोड २२ लाख ८१ हजार ८५३.०७ डलर (रु.११ खर्ब ९ अर्ब ३५ करोड १५ लाख ४० हजार ५१५) शंकास्पद कारोबार गरेको फिनसेनले उल्लेख गरेको छ।

रौनियारका उल्लिखित दुई कम्पनीहरूले २८ सेप्टेम्बर २०१० देखि ४ सेप्टेम्बर २०१४ भित्र स्ट्यान्डर्ड चार्टर्ड बैंक काठमाडौंबाट पटक–पटक प्रतितपत्र खोलेका छन्। यी दुई कम्पनीले यो अवधिमा ७ करोड १४ लाख ५ हजार ५३३ अमेरिकी डलर (रु.८ अर्ब ४९ करोड ७२ लाख ५८ हजार ४२७) रकम दुबई लगायत विभिन्न देशमा भुक्तानी
गरेको देखिन्छ।

फिनसेनले यी कम्पनीहरूबारे संवेदनशील तथ्यहरू औंल्याएको छ। रौनियारको कम्पनीले अमेरिकाद्वारा व्यापारमा प्रतिबन्ध लगाएका मुलुकबाट सामान ल्याएको तर कागजात भने प्रतिबन्ध नलगाइएकै मुलुकहरूबाट सामान ल्याएको देखिने गरी तयार गरेको छ।

त्यसको उदाहरण २८ सेप्टेम्बर २०१० र १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्म भएका कारोबारहरू हुन्। २८ सेप्टेम्बर २०१० मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले दुबईस्थित काइट कम्पनीबाट २ लाख २५ हजार अमेरिकी डलर (रु.२ करोड ६७ लाख ७५ हजार) मूल्य बराबरको अलकत्र खरीद गर्न प्रकाशकुमार रौनियारका नाममा प्रतितपत्र जारी गरेको थियो।

उक्त ‘अर्डर’ अनुसारका सामानहरू २८ सेप्टेम्बर २०१० मा ‘एमएससी जमाइमा’ र ‘एमएससी पेगी’ पानीजहाज कम्पनीमार्फत जिबुउटी र बहराइन पु¥याइएको थियो। जुन सामग्री ‘फर्नेस ओइल’ रहेको विवरणमा उल्लेख छ। त्यहाँबाट कोलकाता हुँदै वीरगञ्जको सिर्सिया बन्दरगाह ल्याइएको कागजातहरूले देखाउँछन्।

ती कागजातका आधारमा १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २ लाख ४३ हजार ५५४.६३ अमेरिकी डलर (रु.२ करोड ८९ लाख ८३ हजार) काइटलाई भुक्तानी गरेको थियो। यो कम्पनीहरूका प्रतितपत्रहरूमाथि २०१६ अक्टोबरमा बेलायतको गैरनाफामूलक संस्था इन्टरनेशनल म्यारिटाइम ब्यूरो (आईबीएम) ले अनुसन्धान गरेको थियो।

उक्त संस्थाले अन्तर्राष्ट्रिय व्यापारका क्रममा हुने सबै प्रकारका सामुद्रिक अपराध, ठगी र गलत अभ्यासबारे खोज्ने काम गर्छ। उसको अनुसन्धानबाट नेपालका कम्पनीहरूले चार पटक ‘इरानको बन्दरगाह बान्डर अब्बासबाट सामान लोड गरिएको’ फेला पा¥यो। तर, कागजपत्र चाहिं ‘दुबईको जेबिल अली बन्दरगाहमार्फत सामान लोड भएको’ भन्ने बनाइएको थियो। यस आधारमा ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको हो।

यी काम कारबाहीबारे प्रतिक्रिया लिन हामीले दुबईस्थित काइटको कार्यालयलाई इमेल मार्फत प्रतिक्रिया लिन खोजेका थियौं। तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन।

उल्लिखित दुई कम्पनीका सञ्चालक मध्येका एक नारायणजी रौनियारले हाल आफ्ना दुवै कम्पनी बन्द भएको बताए। “अहिले कम्पनी छैन, चार पाँच वर्ष जति भयो होला बन्द भइसक्यो” उनले भने, “पहिले अलकत्रको काम गथ्र्यौं, अहिले गर्दैनौं।”

ग्राहक– २, दाना डेरी ग्रुप लिमिटेड
‘फिनसेन’ का अनुसार, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हुँदै स्वीट्जरल्याण्डमा रकम पठाएर शंकास्पद कारोबार गर्ने अर्को ग्राहक हो– दाना डेरी ग्रुप लिमिटेड। ७ अप्रिल २०१५ मा २७ हजार ६७२ अमेरिकी डलर (रु.३२ लाख ९२ हजार ८६८) स्ट्याण्डर्ड चार्टर्ड बैंक काठमाडौंले दाना डेरी ग्रुप लिमिटेड, स्वीट्जरल्याण्डलाई पठाएको देखिन्छ। उक्त रकममध्ये २७ हजार ११२ अमेरिकी डलर (रु.३२ लाख २६ हजार ३२८) मात्रै २८ जुलाई २०१५ मा दानाले स्वीट्जरल्याण्डमा प्राप्त ग¥यो। दाना डेरीले दुग्धजन्य पदार्थको उत्पादन, खरीद, बिक्री र वितरण लगायतको काम गर्छ।

बैंकको कारोबार तथा कम्पनीहरूको संलग्नताबारे स्ट्याण्डर्ड चार्टर्ड बैंकका ‘ब्रान्ड एण्ड मार्केटिङ हेड’ (कर्पोरेट अफेयर्स) प्रनु सिंहले आफूहरूले ‘फिनसेन’ को शंकास्पद कारोबार रिपोर्ट (सार) सम्बन्धी गोपनीयताको दायित्वलाई गम्भीर रूपमा लिएको बताइन्। उनले कुनै केस विशेषमा टिप्पणी गर्न नचाहेको पनि बताइन्।

इमेलमार्फत उनले ‘सार’ प्रतिवेदन आफैंमा ग्राहक, बैंक वा अन्य कुनै संस्थाको गलत कामको प्रमाण नभएको दाबी गरिन्। “बैंकको जिम्मेवारी भनेको विश्वव्यापी वित्तीय प्रणालीको रक्षा गर्न प्रभावकारी अनुगमनको कार्यक्रम बनाउनु हो” उनले भनेकी छन्, “वित्तीय अपराध विरुद्ध लड्ने कामलाई हामी हाम्रो जिम्मेवारीका रूपमा लिन्छौं र शंकास्पद धन बारेको रिपोर्टिङ गर्ने कार्यक्रमका लागि पर्याप्त लगानी गर्छौं।” उल्लिखित कारोबारको विषयमा हामीले स्वीट्जरल्याण्डको दाना डेरी ग्रुपलाई इमेल मार्फत प्रतिक्रिया मागेका थियौं। उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन।

सुन तस्करीकर्तालाई प्राइम र बीओकेको सहयोग
‘फिनसेन’ का अनुसार, तत्कालीन ललितपुर उप–महानगरपालिका–८ बालकुमारी ठेगाना उल्लेख गरेको सास्ता ट्रेडिङ कम्पनीले अमेरिकाको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट नेपाल हुँदै शंकास्पद धन दुबई पु¥याएको भेटिएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक न्यूयोर्क शाखाको समीक्षा भन्दै फिनसेनले उल्लेख गरे अनुसार, १ जनवरी २००८ देखि २९ अगष्ट २०१२ सम्म सास्ता ट्रेडिङ कम्पनी प्रालिसहित चार विदेशी कम्पनीले दुई अर्ब ७७ करोड ८५ लाख ९ हजार ४४५ अमेरिकी डलर (रु.३ खर्ब ३० अर्ब ६४ करोड २६ लाख २३ हजार ९५५) शंकास्पद कारोबार गरेका हुन्।

सास्ता ट्रेडिङले ८ जुलाई २००९ देखि १४ जनवरी २०११ सम्म ५३ वटा कारोबारमार्फत ३ करोड १५ लाख ७२ हजार ८६४ अमेरिकी डलर (रु.३ अर्ब ७५ करोड ७१ लाख ७० हजार ८१६) प्राप्त गरेको देखिन्छ। सो रकम न्यूरोडको प्राइम कमर्सियल बैंक र कमलपोखरीको बैंक अफ काठमाण्डूको सास्ताको खातामा रकम जम्मा भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ। तर दुई बैंकमा कति कति रकम जम्मा भएको भन्ने विवरणबाट खुल्दैन।

सास्ताले कहाँबाट के प्रयोजनका लागि रकम प्राप्त गरेको थियो भन्ने नखुले पनि उक्त रकम दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र हङकङको ‘अडिट ओभरसिज’ लाई भुक्तानी भएको देखिन्छ। कालोटी ज्वेलरीबाट बिस्कुट आकारको सुन र चाँदी आयातका लागि २७ जुलाई २००९ देखि १४ जनवरी २०११ भित्र ५१ पटकमा कालोटीलाई नै ३ करोड ७ लाख १८४ अमेरिकी डलर (रु.३ अर्ब ६५ करोड ३३ लाख २१ हजार ८९६) पठाएको देखिन्छ। बाँकी ८ लाख ७२ हजार ६८० अमेरिकी डलर (रु.१० करोड ३८ लाख ४८ हजार ९२०) सास्ताले हङकङको अडिट ओभरसिजलाई ७ अगष्ट २००९ मा र ८ अप्रिल २००९ मा पठाएको थियो।

फिनसेनले राखेको विवरण अनुसार सुनको मात्रै शंकास्पद कारोबार ५ खर्ब १४ अर्ब ९९ करोड ६० लाख ५१ हजार १८८.२० अमेरिकी डलर बराबरको छ। नेपालको सास्ताले सुन कारोबार गरेको कालोटी ग्रुपले मात्रै सन् २००७ देखि २०१५ सम्ममा ४ हजार ५५७ पटक कारोबार हुँदा ९ अर्ब ३२ करोड २२ लाख ८१ हजार ८५३.०७ डलर (रु.११ खर्ब ९ अर्ब ३५ करोड १५ लाख ४० हजार ५१५) शंकास्पद कारोबार गरेको फिनसेनले उल्लेख गरेको छ।

सन् २०१४ मा भएको एउटा ‘लिक्स’ अनुसार, कालोटीले चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वमा प्रयोग भएको सुन खरीद गर्ने काममा संलग्न भएको देखिएको थियो। सन् २०१२ मा कालोटीले सुन खरीद गर्नका लागि ५.२ बिलियन अमेरिकी डलर नगद भुक्तानी गरेको थियो। सो ‘लिक्स’ अनुसार, बैंकिङ प्रणालीबाट कारोबार हुँदा शंकास्पद धनको पहिचान हुने संभावना छल्न यसरी नगद कारोबार भएको हो।

यही कम्पनीसँग नेपालको सास्ता ट्रेडिङले सुनको कारोबार गरेको ‘फिनसेन फाइल्स’ ले खुलासा गरेको हो। नेपालको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका अनुसार, ‘सास्ता’ का लगानीकर्ताहरूमा काठमाडौं महानगरपालिका २७ की शान्तिप्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन्।

उल्लिखित सेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनी निकट स्रोत बताउँछ। तुलाधर नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष हुन्। उनीसँग सम्पर्क गर्दा ‘आफू बैठकमा रहेको र एक घण्टापछि फोन गर्न’ भने। त्यसपछि पटक पटक प्रयास गर्दा उनले टेलिफोन उठाएनन्।

उल्लिखित कारोबार बारे प्राइम बैंकका सूचना अधिकारी अमृत चरण श्रेष्ठले आफूहरूले राष्ट्र बैंकको नियम अनुसार कारोबार गरेकाले शंकास्पद नभएको बताए। “सास्ता कम्पनी हाम्रो बैंकको पुरानो ग्राहक हो। कम्पनीले हाम्रो बैंकबाट चाँदी आयातको प्रतितपत्र मात्रै खोल्छ। उसले अरू धेरै बैंकबाट पनि कारोबार गर्छ। शंकास्पद भए अन्ततिर होला” श्रेष्ठले भने, “हामीले राष्ट्र बैंकको नियम अनुसार काम गरेका छौं, कुनै कैफियत भएको जानकारी छैन।”

सास्ता संलग्न अर्को बैंक– बैंक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले त धेरै कुरै गर्न चाहेनन्। उनले भने, “यसबारे मलाई केही जानकारी छैन। केही भयो भने म तपाईंलाई पछि कल गर्छु।” यो कारोबारमा जोडिएको दुबईको कालोटीले आईसीआईजेलाई प्रतिक्रिया दिंदै उल्लिखित आरोपलाई अस्वीकार गरेको छ।

इन्भेष्टमेन्ट र जेडटीई साँठगाँठ
‘फिनसेन’का अनुसार, चीनको सबैभन्दा ठूलो दुरसञ्चार सामग्री आपूर्तिकर्ता कम्पनी ‘जिहोङसिङ् टेलिकम्युनिकेसन इक्वीपमेन्ट कर्पोरेशन’ (जेडटीई) ले १७ मार्च २०११ देखि १ मार्च २०१७ सम्म २५ अर्ब २१ करोड ३३ लाख ८१ हजार ४६१.२४ अमेरिकी डलर (रु.२५ अर्ब ३९ करोड २३ लाख ९३ हजार ८८७) रकम नेपालसहितका अन्य मुलुकमा पठाएको थियो।

जेडटीईले बेइजिङस्थित चाइना कन्स्ट्रक्सन बैंक मार्फत उक्त कारोबार गरेको थियो। उसले गरेको कारोबार रकम शंकास्पद भएको चाइना कन्स्ट्रक्सन बैंकको अमेरिकास्थित न्यूयोर्क शाखाले पत्ता लगाएको थियो। ४ नोभेम्बर २०१३ देखि २७ फेब्रुअरी २०१७ सम्मको तीन वर्ष चार महीनामा नेपाल इन्भेष्टमेन्ट बैंकमा जेडटीईले रकम जम्मा गरेको भेटिएको ‘फिनसेन’ ले उल्लेख गरेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौंस्थित कार्यालयमा ५ हजार ७०९.०९ अमेरिकी डलर (रु.६ लाख ७९ हजार ३८१), ५ हजार २४४.७७ अमेरिकी डलर (रु.६ लाख २४ हजार १२६), ४० हजार ३५७.७५ अमेरिकी डलर (रु.४८ लाख २ हजार ५७२) र १० अमेरिकी डलर (रु.१ हजार १९०) जेडटीई कर्पोरेसनले जम्मा गरेको विवरणमा उल्लेख छ।

फिनसेनले विभिन्न सञ्चारमाध्यमलाई हवाला दिंदै उल्लेख गरे अनुसार, पाँच वर्षकोे अनुसन्धानमा जेडटीईले अमेरिकाले लगाएको प्रतिबन्धबाट बच्न ‘अनेक षडयन्त्र गरेको भेटियो’ भनेको छ। कम्पनीले ‘अमेरिकाबाट दूरसञ्चारका सामग्री खरीद गर्ने र ती सामग्रीलाई जेडटीईको उपकरण भन्दै अवैधानिक रूपमा इरान पु¥याएर बिक्री वितरण गर्ने गरेको’ उल्लेख छ। जेडटीईले अमेरिकी प्रतिबन्ध विरुद्ध नियामक निकायको आँखा छल्ने गरी विभिन्न मुलुकमा शंकास्पद धन कारोबार गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ।

जेडटीई नेपालमा दूरसञ्चार उपकरण निर्यात गर्ने एक प्रमुख कम्पनीमा पर्छ। २०७२ वैशाखको भूकम्पलगत्तै नेपालको दूरसञ्चार कम्पनी एनसेलको टावर निर्माणका लागि उपकरण आयात गर्दा उसले रेडक्रसका स्टिकर टाँसेर राहत सामग्री भन्दै व्यावसायिक प्रयोजनका सामग्री भित्र्याउन खोजेको थियो। भन्सार जाँचपास गर्ने क्रममा उक्त कुरा पत्ता लागेपछि रु.१ करोड १० लाख भन्सार महसुल बुझाएर उसले ती सामान छुटाएको थियो।

जेडटीईसँगको रकम कारोबारको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट बैंकका ‘डेपुटी जनरल म्यानेजर’ बिजेन्द्र सुवालले प्रतिक्रियाका लागि शंकास्पद भनिएको कागजात नै पठाउनुपर्ने बताए। उनले बंंैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आफूहरूले बैंक र ग्राहकबीचको सम्बन्ध खुलाउन नसक्ने बताए। इमेलमा हाम्रो प्रश्नको जवाफ दिंदै उनले भनेका छन्, “उचित प्रमाणको अभावमा गोपनीयता सम्बन्धी कानूनी दायित्वका कारण हामी हाम्रा ग्राहक सम्बन्धी जानकारी खुलाउन सक्दैनौं।” हामीले यस सम्बन्धमा जेडटीईलाई इमेल गरेर प्रश्न राखेका थियौं। तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन।

‘सेतीदेवी’ लाई एभरेष्टको साथ
‘ट्याक्स हेवन’ मुलुक ब्रिटिश भर्जिन आइल्याण्डस् टोरटोलाको एंग्लोट्रोन इंक कम्पनीको खाताबाट १० डिसेम्बर २०१३ मा एक लाख अमेरिकी डलर (रु.१ करोड १९ लाख) नेपालमा ‘ट्रान्सफर’ भएको देखिन्छ।

‘फिनसेन’ का अनुसार, जर्मन फ्यांकफर्टको ‘कमर्ज बैंक एजी’ ले न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सो रकम पठाएको थियो। न्यूयोर्कबाट काठमाडौंको ठमेलस्थित सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिको नाममा एभरेष्ट बैंक, नयाँबानेश्वरबाट उक्त रकम प्राप्त भएको देखिन्छ।

५ फेब्रअरी २०१४ मा ६५ हजार अमेरिकी डलर (रु.७७ लाख ३५ हजार) र १४ अगष्ट २०१४ मा १ लाख २० हजार अमेरिकी डलर (रु.१ करोड ४२ लाख ८० हजार) रकम सोही प्रक्रियाबाट सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिले प्राप्त गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ।

सेतीदेवीले तीन पटक प्राप्त गरेको उक्त रकम ‘टेक्सटायल निर्यात’ वापतको रकम भएको जनाइएको छ। ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको छ। नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको रेकर्ड भेटिएन।

एभरेष्ट बैंकका सूचना अधिकारी केशवराज पौडेलले ग्राहकको गोप्य विवरण भएकाले यस बारेमा राष्ट्र बैंकलाई मात्रै जानकारी दिन मिल्ने बताए। “तपाईंले बुझन खोज्नुभएको गोप्य कुरा हो। राष्ट्र बैंकमा रिपोर्ट गर्ने हो। मलाई भन्ने अधिकार हुँदैन” पौडेलले भने, “जुन कम्पनीले गरेको हो त्यसैलाई सोध्दा राम्रो हुन्छ। तैपनि म हाम्रो बैंकको सिस्टममा चाहिं भनिदिन्छु।”

मेगामार्फत सेसल्स ४० लाख
काठमाडौंको एलडी इन्टरनेशनल प्रालिले २२ मे २०१५ मा ३३ हजार ७९८.७५ अमेरिकी डलर (रु.४० लाख २२ हजार ५१) मेगा बैंकमार्फत अमेरिकाको हबिब अमेरिकन बैंकमा पठाएको ‘फिनसेन’ ले उल्लेख गरेको छ। यो रकम इन्डोनेसियाको पिटी बैंक इन्टरनेशनल हुँदै ट्याक्स हेवन मुलुक सेसल्सस्थित इक्विटी वल्र्ड लिमिटेडले प्राप्त गरेको देखियो।

नेपालबाट बाहिरिएको यो रकम सामान आयात बापतको हो। ‘फिनसेन’ ले शंकास्पद गतिविधि सम्बन्धी रिपोर्ट (सार) उल्लेख गरेको यस सम्बन्धी विवरणमा सामानको आयात तथा प्रयोजनबारे भने स्पष्ट खुलाएको छैन। कारोबारमा संलग्न नेपाली कम्पनी एलडी इन्टरनेशनल प्रालि सौरभकुमार अग्रवालको नाममा दर्ता छ। सौरभ काठमाडौं महानगरपालिका वडा नं १ का बासिन्दा हुन्।

सौरभले आफ्नो कम्पनीको कुनै पनि कारोबार शंकास्पद नभएको बताए। “हामीले नियम अनुसार प्रतितपत्र (एलसी) खोलेर बैंकमार्फत कारोबार गरिरहेका छौं” उनले भने, “जे अनुसन्धान गर्दा पनि हुन्छ। हामीले यताउता तलमाथि केही गरेका छैनौं। २० वर्ष भइसक्यो व्यापार गरिरहेको १०० प्रतिशत ठीक छौं।” सौरभले भारत तथा विभिन्न देशहरूबाट उद्योगका लागि आवश्यक ‘केमिकल’ आयात गरी बिक्री गर्ने गरेको बताए।

बीओके र हिमालयन बैंक पनि
२० नोभेम्बर २०१५ मा जर्मनको कमर्ज बैंक एजीमार्फत न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १२७.७९ अमेरिकी डलर (रु.१५ हजार २०७) रकम जम्मा भएको थियो। उक्त रकम नेपालको बैंक अफ काठमाण्डूमार्फत सुनिता शेर्पाले पाइन्। १४ डिसेम्बर २०१५ मा पनि तिनै बैंकहरूमार्फत सुनिताका नाममा ४२९.१० अमेरिकी डलर (रु.५१ हजार ६३) जम्मा भएको थियो। सोही दिन यही प्रक्रियाबाट ७१०.३१ अमेरिकी डलर (रु.८४ हजार ५२७) सुनिताको नाममा आयो। यसलाई पनि ‘फिनसेन’ ले शंकास्पद कारोबारको सूचीमा राखेको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, सुनिताको नाममा ‘फेल्ट एण्ड यार्न प्रालि’ कम्पनी दर्ता छ। उनको यो कम्पनीका नाममा विभिन्न मितिमा हिमालयन बैंकमार्फत शंकास्पद रकम भित्रिएको देखिन्छ। ‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, जर्मनको कमर्ज बैंक एजी हुँदै न्यूूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंक र त्यहाँबाट हिमालयन बैंक, काठमाडौंमार्फत ‘फेल्ट एण्ड यार्न प्रालि’ ले फरक फरक मितिमा ९ हजार ९८५ अमेरिकी डलर (रु.११ लाख ८८ हजार २१५) आठ पटक प्राप्त गरेको छ।

३० अक्टोबर २०१५, ९ नोभेम्बर २०१५, १६ नोभेम्बर २०१५, २० नोभेम्बर २०१५, १५ जनवरी २०१६, २० जनवरी २०१६, २२ जनवरी २०१६ र १ फेबु्रअरी २०१६ मा थप कुल ७९ हजार ८८० अमेरिकी डलर (रु.९५ लाख ५ हजार ७२०) नेपाल भित्रिएको हो। फिनसेनले ‘यो रकम शंकास्पद हुँदाहुँदै पनि बैंकले निगरानी र अस्वीकार गर्ने काम नगरेको’ भनेको छ। बैंक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले यस सम्बन्धमा धेरै कुरै गर्न चाहेनन्।

यो कारोबारमा संलग्न अर्को बैंक हिमालयन बैंकका सूचना अधिकारी सुशील जोशीले यसबारे भवानी घिमिरेसँग जानकारी भएकोले उनीसँग कुरा गर्न भने। घिमिरेले ‘केही पनि जानकारी नभएको र भए पनि ग्राहकको बारेमा भन्न नमिल्ने’ बताइन्।

नेपाल रकम भित्र्याउने कम्पनीकी लगानीकर्ता सुनिता शेर्पाले शंकास्पद किन भनियो जानकारी नभएको बताइन्। “अमेरिकामा पनि हामीले कम्पनी खोलेर कारोबार गरिरहेका छौं। करदेखि सबै कानूनी प्रक्रिया पूरा गरेर काम गरेका हौं” उनले भनिन्। उनले बताए अनुसार कम्पनीले न्यूजिल्यान्डको भेडाको ऊन यहाँ ल्याएर पाँच हजार प्रकारका सामग्रीहरू बनाउने गर्छ। जुन विदेशमा बिक्री हुन्छ। उनले भनिन्, “हाम्रो १०० जनाको टिमले यो काम गर्छ। गत वर्ष हामीले रु.१५ करोडको कारोबार गरेका थियौं।”

उल्लिखित कारोबारमा संलग्न जर्मनको कमर्ज बैंक एजीका प्रवक्ताले बैंकिङ गोपनीयता र सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनका कारण आफ्ना ग्राहक र कारोबारको बारेमा टिप्पणी गर्न नचाहेको प्रतिक्रिया आईसीआईजेलाई दिएका थिए।

बीओकेको अर्को सहयोग
‘फिनसेन’ बाट प्राप्त विवरण केलाउँदा बैंक अफ काठमाण्डू (बिओके) ले नेपालको ‘ओमन्स पेपर क्राफ्ट कम्पनी’ को नाममा शंकास्पद रकम भित्र्याउन सहयोग गरेको देखिन्छ। नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भएको देखिंदैन। तर पनि ६ र २० नोभेम्बर २०१५ मा जर्मनको कमर्ज बैंक एजी हुँदै न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंक र त्यहाँबाट नेपालको बैंक अफ काठमाण्डू मार्फत सो कम्पनीले क्रमश ८७१.९९ अमेरिकी डलर (रु.१ लाख ३ हजार ७६७) र ७२४.६० अमेरिकी डलर (रु.८६ हजार २२७) प्राप्त गरेको थियो।

३ डिसेम्बर २०१५ मा पनि सोही बैंकहरूको ‘रुट’ हुँदै ‘ओमन्स पेपर क्राफ्ट’ ले १ हजार १४६.५९ अमेरिकी डलर (रु.१ लाख ३६ हजार ४४४) प्राप्त गरेको देखिन्छ। उक्त कम्पनीले तिनै बैंकहरूमार्फत २२ डिसेम्बर २०१५ मा १ हजार १५२.८८ अमेरिकी डलर (रु.१ लाख ३७ हजार १९३) र ८ जनवरी २०१६ मा पनि ६२१.५२ अमेरिकी डलर (रु.७३ हजार ९६०) पाएको थियो।

नेपालमा कुन कुन कम्पनी दर्ता भएको विवरण कम्पनी रजिष्ट्रार कार्यालयले वेबसाइटमा राख्छ। तर ओमन्स पेपर क्राफ्टबारे खोजी गर्दा वेबसाइटमा यो विवरण फेला परेन।

जिन्दललाई बाङ्लादेश बैंकको सहयोग
न्यूयोर्कको ‘डच बैंक ट्रष्ट कम्पनी अमेरिकाज’ (डीबीटीसीए) ले ५ जून २०१६ देखि ११ जनवरी २०१६ सम्मको ११६ पटकमा ४ करोड २६ लाख २३ हजार ८२७.३२ अमेरिकी डलर (रु.५ अर्ब ७ करोड २२ लाख ३५ हजार ४५१) भारतको जिन्दल स्टिल एण्ड पावर लिमिटेड कम्पनीले कारोबार गरेको जानकारी पायो। यसबाट जिन्दल स्टिल एण्ड पावर कम्पनी यो कारोबारमा संलग्न भएको देखाउँछ।

‘फिनसेन’ ले यो कारोबारमा ‘जिन्दल स्टिल एण्ड पावर लिमिटेड’, नेपाली कम्पनी ‘नेपाल इन्भेष्टमेन्ट’ सहित १२ विदेशी कम्पनीको संलग्नता रहेको जनाएको छ। यो कारोबारमा नेपाल बाङ्लादेश बैंक र अन्य १९ विदेशी बैंकको संलग्नता भएको खुलासा गरेको छ।

भारतको नयाँदिल्लीमा मुख्य कार्यालय भएको ‘जिन्दल स्टील एण्ड पावर लिमिटेड’ को चीनको बेइजिङमा पनि शाखा छ। यसका संस्थापक भारतको हरियाणा कुरुक्षेत्रबाट लोक सभाका पूर्व सांसद नवीन जिन्दल हुन्। ‘फिनसेन’ का अनुसार, ‘उनी क्रिमिनल ब्रिच अफ ट्रष्ट (आपराधिक विश्वासघात) लगायतका आरोप लागेका व्यक्ति हुन्।’

२० जनवरी २०१३ को ‘बिजनेस स्ट्याण्डर्ड पत्रिका’ का, अनुसार नवीन जिन्दलको बझाङको माथिल्लो सेती जलविद्युत् आयोजनामा १५०० करोड भारु (रु.२४ अर्ब) लगानी गर्ने योजना थियो। तर, उनले इजाजत लिएर लामो समय यो आयोजना ‘होल्ड’ गरेपछि सन २०१० मा सरकारले दर्ता खारेज गरिदिएको थियो।

यस सम्बन्धमा बाङ्लादेश बैंकका सूचना अधिकारी तथा ‘अप्रेशन हेड’ सुरेश देवकोटाले उक्त कम्पनीको नाम पहिलो पटक सुनेको बताए। “त्यो कम्पनीको नाम मैले पहिलोपटक सुनेको हो। हाम्रो बैंकमा कारोबार भएको छ÷छैन पत्ता लगाएर मात्रै बोल्नुपर्छ” उनले भने, “पुरानो कारोबार भएकोले तत्काल भेटिंदैन। खोज्न लगाएको छु। केही सूचना आयो भने तपाईंलाई भनौंला।” अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!