काठमाडौंमै खनालको अवैध ढुंगाखानी : प्रहरी प्रशासनको मिलेमतोको आरोप

- January 3, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । जिल्लाकै उत्तरीपूर्वी शंखरापुर नगरपालिका वडा नं. १ मा अवैध रुपमा ढुंगाखानी संचालन गरेर खानी माफियाले लुट मच्चाउँदै आएको छ ।

खानी संचालन गर्न सम्बन्धित सरकारी निकायबाट स्वीकृत नै नलिई विगत २ वर्षदेखिबाट खानी संचालन गरेर आफुखुसी विक्री वितरण गर्दै आएको फेला परेको हो । विद्यमान ऐन अनुसार बस्तीलाई असर नपर्ने र बस्ती भन्दा ५ किलो मिटर टाढा हुनु पर्ने प्रावधान हुँदा हुँदै खानी माफिया ठाकुर खनालले कुनैपनि प्रक्रिया पुरा नगरी आफुखुसी ढुंगा उत्खखन् गर्दै आएका छन् ।

उनले विगत २ वर्ष अघिदेखि अवैध रुपमा खानी संचालन गरिरहन स्थानीय नियका, प्रहरी प्रशासन र स्थानिय टोले गुण्डालाई प्रभावमा पारी हप्ता बुझाउँदै उनले सो धन्दा चलाईरहेको आरोप स्थानीय बासिन्दाहरुले लगाएका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक स्थानिय भन्छन् – ‘खनालले नाङ्लेभारे प्रहरी बिट र साँखु प्रहरीलाई हप्ता बुझाउँदै बिना अनुमतीको गाडी खुलेआम रुपमा ढुंगा पैठारी गर्दै आएको छ, प्रहरीले समेत ढुंगा बोकेका ति गाडीहरुलाई सेटिङका कारण चेकजाँच नगरि नदेखे झैं छोड्दै आएको छ ।’

यसै सम्बन्धमा वडाध्यक्ष श्याममणी ढुंगानालाई प्रतिकृया लिन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । वडाध्यक्ष सम्पर्कमा नआएपछि नगरपालिका एक कर्मचारीसंग सो खानीको विषयमा प्रतिकृया लिँदा उनी भन्छन् – ‘सो खानी अवैध हो, हामीले पटक पटक प्रहरीलाई पक्राउ गरी खानी बन्द गर्न भनेका थियौं, अझै पनि अटेर गरेर संचालन भैरहेको भन्ने जानकारी आइरहेको छ । लामो समयदेखि नगरपालिकाले प्रहरीलाई बन्द गर्न आग्रह गर्दा पनि कुनै वास्ता नगर्नुले प्रहरीको मिलेमतोको रहेको हुनसक्छ ।’ नगरपालिकाका एक कर्मचारीले उल्लेख गरे ।

लगभग २ सय रोपनीमा संचालन गरिएको उक्त ढुंगाखानीको माथि बस्ती रहेको र उक्त खानीका कारण भविष्यमा उक्त बस्ती नै जोखिममा पर्ने बताइन्छ । अवैध ढुंगाखानीका संचालक खनालले ‘जिविसले सानो गाडीको ७ सय र ठूलो गाडीको २७ सय विल काटेर पठाउने गरेको’ उल्लेख गरे यद्यपी यतिबेला जिल्ला विकास समिति नै विघटन भैसकेको अवस्थामा पनि खनालले पुरानो विवरण प्रस्तुत गर्नुले उनको हर्कत छताछुल्ल भएको छ ।

नाङलेभारे प्रहरीका इन्चार्ज सञ्जय स्याङ्बोले बताए – ‘नगरपालिकाले हामीलाई ढुंगाखानी बन्द गराउन भनेको छ, म आएको एक महिना मात्र भयो, अगाडि देखि नै चलाईरहेको जानकारी पाएको छु । सो खानी अवैध नै हो ।’ ढुंगा बोकेको गाडी खुलेआम लैजाँदा पनि प्रहरीले वास्ता नगर्नुमा प्रहरीको मिलेमतो रहेको भन्ने आरोप छनी भन्ने जिज्ञासा राख्ने वित्तिकै स्याङ्बोले फोन काटी दिए । एक घण्टा पछि पुनः फोन गरेर ४ वटा गाडी नियन्त्रण लिएको भन्दै जानकारी गराए । प्रहरीले ४ वटा गाडी नियन्त्रणमा लिएको जानकारी गराएता पनि खनालले भने अहिले चार वटा स्काइभेटर प्रयोग गरि खानी संचालनलाई निरन्तरता दिइरहेका छन् । सो खानीको विषयमा तीव्रखबरले निरन्तर निगरानी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!